काठमाडौँ, पाँच महिनादेखि केरुङ नाका अवरुद्ध भएपछि नेपाल–चीन व्यापारमा संलग्न व्यवसायीहरू ठूलो समस्यामा परेका छन् । गत असार २४ गते लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि नाका पूर्ण रूपमा बन्द भएको हो ।
चाडपर्वका लागि भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स, कस्मेटिकसहितका करिब २०० कन्टेनर सामान केरुङ नाकामै थन्किँदा आयातकर्ताको करोडौँ रुपैयाँ बराबरको सामान रोकिएको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठका अनुसार साउनमै ल्याइएको दसैँ–तिहार लक्षित सामान अझै नाकामै अलपत्र छन् । “नाकामा सामान रोकिँदा व्यवसाय नै संकटमा परेको छ,” उनको भनाइ छ।
तातोपानी नाका अहिले आंशिक रूपमा मात्रै चलिरहेको छ । वर्षात्को कारण पटक–पटक अवरुद्ध हुने यो नाका तिहारपछि सुचारु भए पनि पुरानै गति लिन सकेको छैन । केरुङ र तातोपानी दुवै नाका प्रभावकारी रूपमा सञ्चालन नहुँदा केही व्यवसायीले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान ल्याउनुपरेको अवस्था छ ।
तर कोरोला नाकाको अवस्थासमेत बिग्रँदै गएको छ । दैनिक चार–पाँच ढुवानीका सवारीलाई मात्र चीन प्रवेश पास दिन थालिएको र अहिले कडिने चिसोका कारण नाका नै बन्द भएको व्यवसायीहरू बताउँछन् । त्यहाँबाट सामान ल्याउँदा मुस्ताङ–पोखरा हुँदै काठमाडौँ आउनुपर्ने भएकाले ढुवानी खर्च झनै बढेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्की भन्छन्— “मुख्य नाका नै बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्नु परिरहेको छ, जसले सामानको मूल्य पनि बढाउँछ । सरकार तुरुन्तै नाका सञ्चालनमा जुट्नुपर्छ ।”
चीनबाट नेपालमा आयात हुने फलफूल, इलेक्ट्रोनिक्स, जुत्ता, लत्ताकपडा, सवारी पार्टसजस्ता सामग्रीको आपूर्तिमा ठूला व्यवधान आइसकेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार केरुङ खुल्दा पनि तातोपानी हुँदै दैनिक २५–३० कन्टेनर आउँथ्यो, तर अहिले तातोपानी मात्र चल्दा कन्टेनर संख्या बढ्न सकेको छैन ।
हाल चीनबाट नेपाल भित्रिने करिब ८० प्रतिशत सामग्री फलफूल रहेको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सारका प्रमुख चुडालले चीनस्थित महावाणिज्य दूतावाससँग सहज आयातका लागि निरन्तर समन्वय भइरहेको बताए ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार केरुङ नाका बन्द भए पनि तातोपानी हुँदै दैनिक ३०–३५ कन्टेनर सामान नेपाल आइरहेका छन् । तर चिसोका कारण कोरोला नाकाबाट आयात पूर्ण रूपमा रोकिएको छ ।
Leave a Reply