वेस्ट बैंकमा इजरायलको नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन : उत्तरी सामरियामा ठूलो सैन्य गतिविधि

इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको उत्तरी भागमा नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन सुरु गरेको छ। बुधबार जारी गरिएको संयुक्त सैन्य तथा आन्तरिक सुरक्षा सेवाको विज्ञप्तिमा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ क्षेत्रमा सञ्चालन भइरहेको व्यापक सुरक्षात्मक पहलको एक महत्वपूर्ण चरणको रूपमा उल्लेख गरिएको छ।

विज्ञप्तामा वेस्ट बैंकका केही भागलाई संकेत गर्न बाइबलीय शब्द प्रयोग गर्दै अपरेसन औपचारिक रूपमा सुरु गरिएको पुष्टि गरिएको छ। एएफपीलाई दिएका उत्तरमा इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाे अभियान रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पुरानो आतङ्कवाद विरोधी कारबाहीको निरन्तरता नभएको स्पष्ट पारेको छ। पहिलाको अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरहरू लक्षित थियो।

सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणपछि गाजा युद्ध सुरु भएसँगै हिंसा तीव्र बनिरहेको छ। गाजामा अक्टोबर १० देखि नाजुक युद्धविराम औपचारिक रूपमा कायम भए पनि वेस्ट बैंकमा झडप र गोली प्रहार रोकिएको छैन।

एएफपीले प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका तथ्याङ्कमा आधारित भएर तयार पारेको विवरणअनुसार, गाजा युद्ध सुरु भएयता वेस्ट बैंकमा इजरायली सेना वा यहूदी बसोबासकर्ताद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। तीमध्ये धेरैजना सशस्त्र समूहका सदस्य भए पनि ठूलो संख्या सामान्य नागरिकको पनि ज्यान गएकै छ।

यता, इजरायली सैनिक र नागरिक गरी कम्तिमा ४४ जनाको मृत्यु भएको इजरायलले जनाएको छ।
नयाँ अपरेसन सुरु भएकाले वेस्ट बैंकमा थप अस्थिरता बढ्ने चेतावनी सुरक्षा विश्लेषकहरूले दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *