ज्येष्ठ नागरिकदेखि हिंसापीडितसम्म: काठमाडौँ महानगरले सुरु गर्यो निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ ,काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, वेवारिसे तथा हिंसापीडित व्यक्ति, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेकालाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ।

आज उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता पछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले पारिवारिक समस्याका कारण उपचारमा जान नपाएका नागरिकले “महानगरपालिका पनि मेरो साथमा छ” भन्ने विश्वास गर्न थालेको उल्लेख गरेकी छन्।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सेवा आवश्यक पर्ने व्यक्तिले सजिलै उपचार पाओस् र दुरुपयोग रोकियोस् भनेर अस्पताललाई प्रभावकारी प्रणाली बनाउन आग्रह गरेका छन्।

अस्पतालका अध्यक्ष डा. श्रेष्ठले स्वास्थ्योपचारलाई बेवास्ता गर्दै आएका पाका नागरिक उपचारमा आउने, समुदायले उपचारसम्बन्धी जानकारी खोज्ने जस्ता सकारात्मक परिवर्तन महानगरको सहकार्यकै प्रभाव भएको बताएका छन्।

सम्झौताअनुसार काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई पनि उपचार सेवा उपलब्ध हुनेछ। महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा प्रदान गरिनेछ।
लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ। यसरी हुने उपचार खर्च महानगरपालिकाले व्यहोर्नेछ।

महानगरपालिकाले उपचार सहकार्यका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। अस्पतालले ३० प्रतिशत थप योगदान दिँदै कुल १ करोड ८० लाख रुपैयाँ बराबरको सेवा प्रदान गर्नेछ।
सम्झौता चालु आर्थिक वर्षका लागि लागू हुने छ।

सेवा लिन कर्मचारी र जनप्रतिनिधिले परिचयपत्र, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता कार्ड, साथै राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *