लुम्बिनीको उत्कृष्ट प्रदर्शन: विराटनगरमाथि ५ विकेटको जीत

काठमाडौँ, लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा तेस्रो जीत दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्‍यो।

१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। लुम्बिनीका ओपनर डार्सी सर्ट उत्कृष्ट फर्ममा रहेर सर्वाधिक ५७ रनको योगदान दिए।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २–२ विकेट तथा बसिर अहमदले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको थियो। विराटनगरका लोकेश बमले ३५, बसिर अहमदले २८ र साम हिजलेटले २७ रन बनाए। लुम्बिनीका शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट झारे।

यो जीतसँगै लुम्बिनीले ६ अंक जोड्दै प्लेअफ प्रतिस्पर्धामा आफूलाई बलियो बनाएको छ। उता, आठ अंक सहित विराटनगर पनि प्लेअफ दौडमै कायम छ।