कान्ती राजमार्ग विस्तारका कारण एकान्तकुना खण्ड दुई महिना बन्द

ललितपुर — कान्ती राजमार्गअन्तर्गत एकान्तकुना क्षेत्रको सडक विस्तार तथा कटिङ कार्य तीव्र बनाउने उद्देश्यले सो क्षेत्र ६० दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार सूचना जारी गर्दै यही मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको जानकारी दिएको हो।

प्रशासनका अनुसार सडक विस्तारका आवश्यक प्राविधिक कार्य प्रभावकारी र छिटो सम्पन्न गर्नुपर्ने भएकाले एकान्तकुना खण्ड अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

सडक बन्द अवधिमा कान्ती राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनका चालक तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। प्रशासनले काम समयमा सम्पन्न गर्न सरोकार भएका सबै निकायसँग सहयोगको अपेक्षा पनि जनाएको छ।