जथाभावी औषधि सेवन नगर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जथाभावी औषधिको सेवन नगर्न आग्रह गरेकी छिन् । विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा मंगलबार भिडियो सन्देश जारी गर्दै उनले अनावश्यक जथाभावी औषधि, एन्टिबायोटिक औषधि र एन्टिमाइक्रोबियल औषधि सेवन नगर्न आग्रह गरेकी हुन् ।

एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै उनले चिकित्सकले लेखेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा मात्रै खान आग्रह गरेकी छिन् । मन्त्री डा. गौतमले उपचारका क्रममा सामान्य औषधिले नछोएर एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको प्रयोगले अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म पुर्याउने गरेको बताईन् । ‘हामीलाई सामान्य औषधिले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ । त्यसैले हामीले जँचाएर आवश्यक मात्रामा र आवश्यक औषधि मात्रै प्रयोग गर्नुपर्छ,’ उनले भनेकी छन् । जथाभावी एन्टिबायोटिक औषधि किनेर खाने गर्नाले, खाद्य सामग्रीमा मिसाएर खानाले र पशुपन्छीको आहारका रुपमा खुवाउँदा पनि एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्ने उनको भनाइ छ । सबैको सहभागितामा मुलुकबाट प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) हुने औषधिका रेसिस्टेन्स कम गर्नलाई सक्रिय भूमिका खेल्न उनले आग्रह गरेकी छिन् ।

यस्तै स्वास्थ्य सचिव डा. विकास देवकोटाले विवेकपूर्ण तरिकाले औषधि प्रयोगको गर्नुपर्ने बताए । उनले प्रतिजैविक प्रतिरोध स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आइरहेकाले यसलाई समयमै सम्बोधन गर्न सकेनौँ भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति व्यहोर्नुपर्ने हुनसक्ने बताए । उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स चुनौतीको सामना गर्न एन्टिमाइक्रोबियल स्टिवार्डसिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘हामीले स्वास्थ्य संस्थाहरूमा औषधि प्रयोगको निगरानी, डेटा/तथ्यांक अभिलेख र चिकित्सकहरूको क्षमता विकासलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘एन्टिमाइक्रोबियल स्टिवर्डसिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा हो जसमा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता अत्यावश्यक छ ।’

मन्त्रालयले औषधिको प्याकेटमा रातो धर्का दिएका औषधि स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन विना सेवन गर्न/नगर्न आग्रह गरेको छ । ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मंगलबारदेखी देशव्यापी रुपमा मनाइँदैछ । सप्ताह मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *