काठमाडौं । पीएचडी नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक नियुक्त भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयका चार जना अध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सह–परीक्षा नियन्त्रक छनोट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दाबी पेश गर्ने सह–प्राध्यापक डिल्लीराम प्रसाईंलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
छनोट समितिमा संयोजक प्राध्यापक डा. जया लक्ष्मी प्रधान, सदस्य प्राध्यापक डा. मोतिलाल शर्मा र प्राध्यापक डा. मेधराज पोखरेल रहेका थिए।
एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि त्रिभुवन विश्वविद्यालयले सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेपछि छ जनाले आवेदन दिएका थिए। प्रतिस्पर्धीहरूमध्ये एकजनालाई छनोट गर्न टीयूले तीन सदस्यीय समिति गठन गरेको थियो।
प्रतिस्पर्धीमध्येका डिल्लीराम प्रसाईंले आफूलाई पीएचडी उपाधिधारी भन्दै ‘डा.’ लेखेका थिए र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमका प्रमाणपत्र समेत पेस गरेका थिए। विद्यावारिधि गरेका उम्मेदवारलाई थप ८ अंक दिने प्रावधानका कारण उनले झुटो पीएचडी देखाएर अंक वृद्धि गराएको अख्तियारको ठहर छ।
अभिलेखअनुसार प्रसाईंले २७ भदौमा मौखिक परीक्षा दिएका थिए, तर डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिले उनको शोधपत्र अन्तिम रूपमा स्वीकृत नभएको निष्कर्ष निकालेको थियो। उनले २९ माघमा मात्र विद्यावारिधि उपाधि पाएको पुष्टि भएको छ।
पद र लाभ लिनका लागि झुटो विवरण पेस गरेको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दायर गरिएको र उक्त झुटो विवरण स्वीकार गरी छनोट प्रक्रिया प्रभावित पारेको आरोपमा समितिका तीन सदस्यविरुद्ध पनि मुद्दा चलाइएको अख्तियारले जनाएको छ।
Leave a Reply