धनगढी, कैलालीको धनगढीमा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरूबीच भीडन्तजस्तो तनाव उत्पन्न भएको छ। एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेनजी कार्यकर्ता र स्वागतका लागि पुगेका एमाले समर्थकहरू आमनेसामने परेपछि केही घाइते समेत भएका छन्।
धनगढी विमानस्थलमा स्वागत समारोहपछि बस्नेतलाई कार्यक्रमस्थलतर्फ लैजाने क्रममा जेनजी युवाहरूले जेनजी मार्गनजिक विरोध प्रदर्शन गरिरहेका थिए। ‘गुण्डुको गुण्डाः गो ब्याक’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवाहरू सडकमा उभिएका थिए।
यही क्रममा मोटरसाइकल र्यालीसँगै आएका एमालेनिकट युवा कार्यकर्ताहरूले प्रदर्शन रोक्न खोज्दै जेनजी कार्यकर्तामाथि हातपात गरेको आरोप लगाइएको छ। घटनामा केही जेनजी युवा सामान्य घाइते भएका छन्।
बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन्। पछिल्ला दिनमा उनी जहाँ–जहाँ पुगिरहेका छन्, त्यही–त्यही जेनजी युवाद्वारा विरोध प्रदर्शन भइरहेका छन्। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रदर्शन भएको थियो। यसअघि बाराको सिमरा र मोरङको विराटनगरमा पनि उनीविरुद्ध तीव्र नाराबाजी भएको थियो।
मंसिर ३ मा सिमरा विमानस्थलमा भएको ठूलो प्रदर्शनका क्रममा जेनजी युवा र प्रहरीबीच झडप भएको थियो, जसपछि प्रशासनले कर्फ्यु लागेकाे थियो। मंसिर ७ मा विराटनगरमा पनि युवाहरूले बस्नेत सवार गाडीमा रातो रङ छ्यापेका थिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बस्नेतले जेनजी कार्यकर्तालाई ‘आतंककारी’ सम्बोधन गर्ने, टिकटक–रिल बनाउनेलाई कारबाही गर्ने तथा सिंहदरबार जलाउनेहरू आतंककारी भएकोजस्ता अभिव्यक्तिहरू दिएका थिए। यिनै अभिव्यक्तिले जेनजी समूह र एमालेबीचको तनाव थप चर्किएको छ।
यता, बस्नेतका कडा अभिव्यक्तिले भने उनको पार्टीभित्र समर्थन झनै मजबुत भईरहेको एमाले स्रोतहरू बताउँछन्।

Leave a Reply