Author: admin

  • वेस्ट बैंकमा इजरायलको नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन : उत्तरी सामरियामा ठूलो सैन्य गतिविधि

    इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको उत्तरी भागमा नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन सुरु गरेको छ। बुधबार जारी गरिएको संयुक्त सैन्य तथा आन्तरिक सुरक्षा सेवाको विज्ञप्तिमा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ क्षेत्रमा सञ्चालन भइरहेको व्यापक सुरक्षात्मक पहलको एक महत्वपूर्ण चरणको रूपमा उल्लेख गरिएको छ।

    विज्ञप्तामा वेस्ट बैंकका केही भागलाई संकेत गर्न बाइबलीय शब्द प्रयोग गर्दै अपरेसन औपचारिक रूपमा सुरु गरिएको पुष्टि गरिएको छ। एएफपीलाई दिएका उत्तरमा इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाे अभियान रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पुरानो आतङ्कवाद विरोधी कारबाहीको निरन्तरता नभएको स्पष्ट पारेको छ। पहिलाको अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरहरू लक्षित थियो।

    सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणपछि गाजा युद्ध सुरु भएसँगै हिंसा तीव्र बनिरहेको छ। गाजामा अक्टोबर १० देखि नाजुक युद्धविराम औपचारिक रूपमा कायम भए पनि वेस्ट बैंकमा झडप र गोली प्रहार रोकिएको छैन।

    एएफपीले प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका तथ्याङ्कमा आधारित भएर तयार पारेको विवरणअनुसार, गाजा युद्ध सुरु भएयता वेस्ट बैंकमा इजरायली सेना वा यहूदी बसोबासकर्ताद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। तीमध्ये धेरैजना सशस्त्र समूहका सदस्य भए पनि ठूलो संख्या सामान्य नागरिकको पनि ज्यान गएकै छ।

    यता, इजरायली सैनिक र नागरिक गरी कम्तिमा ४४ जनाको मृत्यु भएको इजरायलले जनाएको छ।
    नयाँ अपरेसन सुरु भएकाले वेस्ट बैंकमा थप अस्थिरता बढ्ने चेतावनी सुरक्षा विश्लेषकहरूले दिएका छन्।

  • विराटनगरको लगातार चौथो जितको दाउ, चितवन अपराजित यात्रा रोक्ने तयारीमा

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
    विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    सन्दीप लामिछानेको कप्तानीमा खेलेको विराटनगर यसअघि लगातार तीन खेलमा शानदार जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अपराजित यात्रामा रहेको टोली आज पनि चौथो जितका साथ प्ले अफमा दाबेदारी बलियो बनाउन चाहन्छ।

    उता, कुशल मल्लको नेतृत्वमा रहेको चितवनले दुई खेलबाट दुई अंक हासिल गर्दै तालिकाको चौथो स्थान ओगटेको छ। एक जित र एक हार व्यहोरेको चितवन अहिले विराटनगरको अपराजित दौड रोक्दै प्रतियोगितामा आफ्नो लय फिर्ता ल्याउने लक्ष्यमा छ।

    आजको भिडन्तलाई दुवै टोलीका समर्थकले ‘महत्त्वपूर्ण मोड’का रूपमा हेरेका छन्, किनकि यसले तालिकामा ठूलो प्रभाव पार्नेछ।

  • सर्वोच्च अदालत जलाएको आरोपमा पूर्व स्ववियू नेता विष्णु ढुंगेल पक्राउ

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा गरिएको आगजनी प्रकरणमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।
    उनी पूर्वमाओवादी पृष्ठभूमिका विद्यार्थी नेता हुन्।

    प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। सर्वोच्च अदालत जलाउने क्रममा ढुंगेलको उपस्थिति देखिएको भिडियो तथा तथ्य प्रमाणको आधारमा उनी पक्राउ परेका प्रहरी स्रोतले पुष्टि गरेको छ।

    यसअघि सर्वोच्च आगजनी काण्डमा संलग्न भएको आरोपमा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। ढुंगेल पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

    सर्वोच्च अदालत जलाउने व्यक्तिहरूलाई पत्ता लगाएर कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले समन्वय गर्दै विशेष अपरेशन सञ्चालन गरिरहेको छ।

  • त्रिभुवन विश्वविद्यालयमा नक्कली पीएचडी काण्ड : छनोट समितिसहित चार जनामाथि कारबाही

    काठमाडौं । पीएचडी नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक नियुक्त भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयका चार जना अध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले सह–परीक्षा नियन्त्रक छनोट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दाबी पेश गर्ने सह–प्राध्यापक डिल्लीराम प्रसाईंलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
    छनोट समितिमा संयोजक प्राध्यापक डा. जया लक्ष्मी प्रधान, सदस्य प्राध्यापक डा. मोतिलाल शर्मा र प्राध्यापक डा. मेधराज पोखरेल रहेका थिए।

    एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि त्रिभुवन विश्वविद्यालयले सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेपछि छ जनाले आवेदन दिएका थिए। प्रतिस्पर्धीहरूमध्ये एकजनालाई छनोट गर्न टीयूले तीन सदस्यीय समिति गठन गरेको थियो।

    प्रतिस्पर्धीमध्येका डिल्लीराम प्रसाईंले आफूलाई पीएचडी उपाधिधारी भन्दै ‘डा.’ लेखेका थिए र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमका प्रमाणपत्र समेत पेस गरेका थिए। विद्यावारिधि गरेका उम्मेदवारलाई थप ८ अंक दिने प्रावधानका कारण उनले झुटो पीएचडी देखाएर अंक वृद्धि गराएको अख्तियारको ठहर छ।

    अभिलेखअनुसार प्रसाईंले २७ भदौमा मौखिक परीक्षा दिएका थिए, तर डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिले उनको शोधपत्र अन्तिम रूपमा स्वीकृत नभएको निष्कर्ष निकालेको थियो। उनले २९ माघमा मात्र विद्यावारिधि उपाधि पाएको पुष्टि भएको छ।

    पद र लाभ लिनका लागि झुटो विवरण पेस गरेको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दायर गरिएको र उक्त झुटो विवरण स्वीकार गरी छनोट प्रक्रिया प्रभावित पारेको आरोपमा समितिका तीन सदस्यविरुद्ध पनि मुद्दा चलाइएको अख्तियारले जनाएको छ।

  • कुलमान घिसिङ र खगेन्द्र सुनारको दल एउटै चुनाव चिह्नमा, ‘बिजुलीको चिम’मा सहमति

    काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन्। बुधबार काठमाडौंमा सम्पन्न छलफलपछि दुवै दलले ‘बिजुलीको चिम’लाई साझा चुनाव चिह्नका रूपमा प्रयोग गर्ने सहमति जुटाएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए।

    उज्यालो नेपाल पार्टीको संरक्षकत्व ऊर्जामन्त्री कुलमान घिसिङकाे रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले गठन गरेका हुन्। दुवै दलले संयुक्त रूपमा प्रतिस्पर्धा गर्दै चुनावी प्रभाव बढाउने उद्देश्यसहित सहकार्य गरेको बताएका छन्।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरिएको यो सहकार्यबारे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न दुवै दलले तयारी गरेको प्रवक्ता थापाले बताए।

    उनका अनुसार, सहमतिपत्रसहित आयोगमा पेश हुने निवेदनपछि दुवै दल ‘बिजुलीको चिम’ चिह्न प्रयोग गरेर निर्वाचनमा उत्रनेछन्।

  • जथाभावी औषधि सेवन नगर्न आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जथाभावी औषधिको सेवन नगर्न आग्रह गरेकी छिन् । विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा मंगलबार भिडियो सन्देश जारी गर्दै उनले अनावश्यक जथाभावी औषधि, एन्टिबायोटिक औषधि र एन्टिमाइक्रोबियल औषधि सेवन नगर्न आग्रह गरेकी हुन् ।

    एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै उनले चिकित्सकले लेखेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा मात्रै खान आग्रह गरेकी छिन् । मन्त्री डा. गौतमले उपचारका क्रममा सामान्य औषधिले नछोएर एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको प्रयोगले अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म पुर्याउने गरेको बताईन् । ‘हामीलाई सामान्य औषधिले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ । त्यसैले हामीले जँचाएर आवश्यक मात्रामा र आवश्यक औषधि मात्रै प्रयोग गर्नुपर्छ,’ उनले भनेकी छन् । जथाभावी एन्टिबायोटिक औषधि किनेर खाने गर्नाले, खाद्य सामग्रीमा मिसाएर खानाले र पशुपन्छीको आहारका रुपमा खुवाउँदा पनि एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्ने उनको भनाइ छ । सबैको सहभागितामा मुलुकबाट प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) हुने औषधिका रेसिस्टेन्स कम गर्नलाई सक्रिय भूमिका खेल्न उनले आग्रह गरेकी छिन् ।

    यस्तै स्वास्थ्य सचिव डा. विकास देवकोटाले विवेकपूर्ण तरिकाले औषधि प्रयोगको गर्नुपर्ने बताए । उनले प्रतिजैविक प्रतिरोध स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आइरहेकाले यसलाई समयमै सम्बोधन गर्न सकेनौँ भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति व्यहोर्नुपर्ने हुनसक्ने बताए । उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स चुनौतीको सामना गर्न एन्टिमाइक्रोबियल स्टिवार्डसिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘हामीले स्वास्थ्य संस्थाहरूमा औषधि प्रयोगको निगरानी, डेटा/तथ्यांक अभिलेख र चिकित्सकहरूको क्षमता विकासलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘एन्टिमाइक्रोबियल स्टिवर्डसिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा हो जसमा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता अत्यावश्यक छ ।’

    मन्त्रालयले औषधिको प्याकेटमा रातो धर्का दिएका औषधि स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन विना सेवन गर्न/नगर्न आग्रह गरेको छ । ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मंगलबारदेखी देशव्यापी रुपमा मनाइँदैछ । सप्ताह मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।

  • निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल

    काठमाडौँ, नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउँदै सुशासन, सेवाप्रवाह, विकास निर्माण र समग्र रूपान्तरणको ‘मियो’को रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उनले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट पारे । 
    
    “चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्प्रिह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु”, मुख्यसचि अर्यालले भने । उनले आफू सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुने विश्वास दिलाए । 

    ९नवनियुक्त मुख्यसचिव अर्यालले आज पदबहालीपछि दिएको मन्तव्यको पूर्णपाठ यसप्रकार छः

    १। सर्वप्रथम, नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गरी मलाई देश र जनताको सेवा गर्ने अमूल्य अवसर प्रदान गरेकोमा म नेपाल सरकार मन्त्रिपरिषद् र विशेषतः सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभारसहित कृतज्ञता व्यक्त गर्दछु ।

    २। २०८२ भाद्र २३ र २४ गते सुशासन, आर्थिक रूपान्तरण र भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी भएको जेन–जी आन्दोलनको क्रममा अमूल्य जीवन उत्सर्ग गर्नुहुने युवापुस्ताका सम्पूर्ण भाइ–बहिनीहरू, सुरक्षाकर्मी, राष्ट्रसेवकहरू लगायत सबैमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । आन्दोलनका क्रममा घाइते भई उपचाररत सम्पूर्ण भाइ–बहिनीहरू तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    ३। मुख्य सचिव पदमा मेरो नियुक्तिसँगै निजामती सेवाको नेतृत्व तहको पदमा पदाधिकारी नियुक्ति गर्दा बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गर्ने निजामती सेवा ऐनको व्यवस्था अनुसरण हुन सकेको सबैले महसुस गरेका छन् । यसका लागि म वर्तमान सरकारप्रति हृदयतः आभारी छु । हामी सबै विधि, पद्धति र प्रणालीको संस्थागत विकास र परिपालनामा समर्पित रहनसक्यौं भने समग्र निजामती सेवाको गरिमा उँचो हुनेछ र मुलुकमा सुशासन कायम गर्न सहयोगी हुनेछ ।

    ४। मलाई आज यो जिम्मेवारी सम्हाल्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूमा हृदयतः धन्यवाद प्रकट गर्दछु । यस क्रममा भर्खरै सेवा निवृत्त हुनुभएका नेपाल सरकारका मुख्य सचिव आदरणीय एकनारायण अर्यालज्यूप्रति उहाँको सद्भाव, सहयोग र मार्गनिर्देशनका लागि हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको सेवानिवृत्त जीवन सुखद, स्वस्थ र रचनात्मक रहोस् भनी शुभकामना व्यक्त गर्दछु । केही समयपूर्व मुलुकमा भएको जेन–जी आन्दोलनसँगै उत्पन्न विषम र जटिल परिस्थितिमा पनि कत्ति विचलित नभई कुशलतापूर्वक प्रशासनिक नेतृत्व प्रदान गर्दै मुलुकलाई आजको शान्तिपूर्ण अवस्थामा ल्याई पुरÞ्याउन मुख्य सचिवको रूपमा उहाँले खेल्नुभएको कुशल र समन्वयकारी भूमिकाको म सहाहना गर्न चाहन्छु ।

    ५। चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्य सचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्पृह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु । मेरो कार्यकालमा निजामती सेवाको साखलाई अभिवृद्धि गरी यसलाई सुशासन, सेवाप्रवाह, विकास निर्माण र मुलुकको समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहनेछु । देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै मेरो कार्यकालको सर्वोपरि लक्ष्य रहनेछ । मेरो सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुनेछ ।

    ६। देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको अहिलेको अवस्थामा प्रशासनिक कामकाजलाई फस्र्योट गर्ने सन्दर्भमा अब विगतमा झै नियमित काम पर्याप्त हुँदैन । देशमा शान्ति–सुरक्षा र स्थिरता कायम गर्दै, सबै पक्षबीच सद्भाव र सौहार्द सम्बन्ध विकास गर्दै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई अक्षुण्ण राख्न हामीले विगतमा भन्दा अझ बढी समर्पित भई खटिन आवश्यक छ । यसमा सबैको सक्रियता लगनशीलता र नतिजामुखी कार्यशैलीको निरन्तर आवश्यकता पर्दछ ।

    ७। मुलुकको स्थायी सरकारको रूपमा परिचित निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो । राजनीतिक नेतृत्वलाई विभिन्न महत्त्वपूर्ण तथ्य, तथ्याङ्क, सूचना र जानकारी उपलब्ध गराई सार्वजनिक नीति निर्माणमा सहयोग पुरÞ्याउने, सरकारद्वारा निर्धारित नीति र कार्यक्रमलाई निष्पक्षताका साथ कार्यान्वयन गर्ने, विद्यमान ऐन, नियमको कार्यान्वयन गरी मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्ने, सरकारको तर्फबाट जनतालाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा समयमै सहज तरिकाले उपलब्ध गराउने तथा देशको विकास निर्माणको कार्यलाई गति दिने जस्ता बहुआयामिक जिम्मेवारी बोकेको निजामती प्रशासन राष्ट्रको मियो हो । यो मियोलाई जति बलियो बनाउन सकियो मुलुकमा सुशासनको स्तर त्यति नै माथि उठ्ने हुन्छ ।

    ८। सरकार तपाईं हामीजस्ता राष्ट्रसेवक भएर नै जनताको घरदैलोमा पुग्दछ । अतः तपाईं हाम्रो अनुहारमा सरकार प्रतिबिम्बित हुन्छ । तपाईं हामीले अवलम्बन गर्ने सोच र प्रदर्शन गर्ने शैली, व्यवहार र आचरणले सरकारको समग्र छवि निर्धारित हुन्छ । अतः सरकारलाई सफल बनाउन, सरकारले जनताप्रति गरेका वाचा र प्रतिबद्धतालाई पूरा गरी सरकारप्रतिको जनताको भरोसा र विश्वासलाई कायम राख्न तथा सर्वसाधारणको नजरमा सरकारको छविलाई उच्च बनाउन निजामती कर्मचारीहरू आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्वप्रति सदैव समर्पित हुन सक्नुपर्दछ ।

    ९। कर्मचारीहरू सार्वजनिक पदाधिकारी भएकाले उनीहरूले आफ्नो चरित्र र आचरणलाई सदैव स्वच्छ, पवित्र र पारदर्शी राख्नसक्नुपर्दछ । जनताको शासक होइन, सेवक र सहजकर्ताको रूपमा, निर्धा सोझा जनताको शोषक र पीडकको रूपमा होइन पोषक र रक्षकका रूपमा तथा विकास निर्माणको बाधक होइन साधक र उत्प्रेरकका रूपमा निजामती कर्मचारीले आफूलाई उभ्याउनु पर्दछ ।

    १०। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा निजामती सेवा परिवर्तन, विकास र रूपान्तरणको संवाहक पनि हो । सबल, सक्षम, अनुशासित, कर्तव्यपरायण, मुलुक र जनताको सेवामा समर्पित र चिन्तनशील तथा जनउत्तरदायी निजामती सेवाबाट नै मुलुकले विकासमा फड्को मार्न सक्ने हुन्छ तथा नागरिकको माग र अपेक्षा सम्बोधन गर्न सकिने हुन्छ । निजामती सेवा जुनस्तरमा चुस्त, स्वच्छ र पारदर्शी हुन्छ राज्यका अरू क्षेत्रहरूमा त्यही स्तरमा प्रभाव देखिने हुँदा राज्यका अन्य क्षेत्रमा असल परिणाम प्रदर्शन गर्न पनि निजामती सेवा अरूभन्दा अब्बल, अनुशासित, मर्यादित र परिणाममुखी हुन जरुरी छ ।

    ११। नेपालको संविधानको राजनैतिक तथा शासन व्यवस्थासम्बन्धी नीतिअन्तर्गत सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चत गरी सुशासनको प्रत्याभूति गर्ने कुरा उल्लेख भएको छ । अतः म सबै राष्ट्रसेवकहरूलाई संवैधानिक व्यवस्था, नीति र आदर्शलाई सदैव शिरोपर र मनन गरी राष्ट्र सेवामा जुट्न आग्रह गर्दछु ।

    १२। सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरूप, सबलता र क्रियाशीलतामा निर्भर हुने हुन्छ । निजामती प्रशासन जति चुस्त, स्वच्छ, इमान्दार, जनसेवी र विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यति नै माथि जाने हुन्छ ।

    १३। यति महत्वपूर्ण भूमिका र जिम्मेवारी बोकेको निजामती सेवा आज जनताको नजरमा त्यति खरो उत्रन नसकेको तीतो यथार्थ हामी बीच छ । आज जनताको नजरमा निजामती सेवा भनेको अल्छी, जुम्स्याहा, जिम्मेवारी लिन नचाहने, काम पन्छाउने, झुलाउने, राष्ट्र र जनताको सेवा भन्दा पनि आफ्नै सेवा, सुविधा र अवसरको लागि मात्र चिन्तित रहने आत्मकेन्द्रित, स्वार्थी संगठनको रूपमा आरोपित हुन थालेको छ ।

    १४। निष्पक्ष, तटस्थ र निःस्वार्थ भएर कानून बमोजिम आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने निजामती कर्मचारी आज विभिन्न राजनीतिक आस्था र गुटमा विभाजित हुँदै निजामती सेवाको सबैभन्दा आधारभूत चरित्र निष्पक्षता, तटस्थता र इमान्दारीमाथि नै खेलवाड गर्न उद्यत छन् । सरुवा र पदस्थापनका लागि कर्मचारीहरूबीच हुने गरेको अस्वच्छ प्रतिस्पर्धा, आफ्नो क्षमता, दक्षता, अनुभव र कार्यसम्पादनयोग्यता भन्दा पनि अमुक दल वा प्रणालीले नचिनेको व्यक्तिसँगको सामीप्य र बसउठले आज निजामती सेवालाई शिथिल बनाएको छ ।

    १५। आज कर्मचारीहरूको कार्यशैली र नैतिकतामा आएको हासले समग्र निजामती प्रशासन नै जनताको नजरमा गिर्दो अवस्थामा छ । जनताको काम समयमै नगरिदिने र जिम्मेवारी पन्छाउने प्रवृत्तिले निजामती सेवाको साख क्रमशः स्खलित हुँदैछ । अब हामीले आफ्नो व्यक्तिगत आचरण र कार्यशैलीमा आमूल परिवर्तन ल्याउनै पर्दछ । सेवा प्रवाहदेखि विकास निर्माणको कामलाई थप चुस्त र प्रभावकारी बनाई आज आम जनतामाझ निजामती सेवाको गिर्दो साखलाई थप क्षयीकृत हुनबाट बचाउनु पर्ने खाँचो छ ।

    १६। यसको लागि नेतृत्व तहमा बसेका तपाईं हामीले बढी जिम्मेवारीबोधका साथ काम गर्न जरुरी छ । मुहान सफा र स्वच्छ भए मात्र तलका खोला नाला सफा हुने हुन्छन् । यो कुरालाई आत्मसात् गरी निजामती सेवाका नेतृत्व तहका सम्पूर्ण कर्मचारीहरूले आफ्नो आचरण र कार्यशैलीमा आमूल सुधार गर्न जरुरी छ । हामी सबैले पदीय जिम्मेवारी र आचरणलाई पूर्ण निष्ठाका साथ पालन गरेमात्र जनताको नजरमा हामी राम्रो देखिनसक्छौं । उनीहरूको विश्वास जित्न सक्छौं ।

    १७। अनुशासन र चेन अफ कमान्ड निजामती सेवाका आधारभूत तत्त्व हुन् । यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न हुँदैन । तसर्थ, म सबै साथीहरूलाई यी दुई कुरालाई सदैव हृदयङ्गम गरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्न चाहन्छु ।

    १८। हामी समग्र निजामती कर्मचारीहरू जनताका सेवक हौं । आवधिक निर्वाचनद्वारा चुनिएर आउने सरकारले नागरिकहरूसँग गरेका प्रतिबद्धताहरूलाई सार्वजनिक नीति र कानूनको माध्यमबाट कार्यान्वयनमा उतारी जनताले सरकारसँग अपेक्षा गरेका विषयहरूलाई पूरा गर्न सघाई नागरिक सन्तुष्टि अभिवृद्धि गर्नु हाम्रो धर्म हो । त्यस हिसाबले राजनीतिक नेतृत्वलाई जनतासँग गरेका प्रतिज्ञा र प्रतिबद्धताहरूलाई पूरा गर्न सघाउनु हाम्रो साझा दायित्व हो ।

    १९। राजनीतिक आस्थाको आधारमा कहिले जे काम गर्न पनि उद्यत हुने र कहिले ऐन कानूनले निर्दिष्ट गरिदिएको काम पनि नगर्ने प्रवृत्ति हामीमा किमार्थ हुनुहुँदैन । जुनसुकै राजनीतिक दलको सरकार नेतृत्वमा आए पनि प्रचलित कानूनको अधीनमा रही उसले कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रमलाई सफलीभूत बनाउन मनसा–वाचा–कर्मणा सहयोग गर्नु हाम्रो धर्म हो । राजनीतिक तटस्थता र संविधान तथा संवैधानिक मूल्य मान्यताप्रतिको अटल प्रतिबद्धता हाम्रा आदर्श हुन् । जुनसुकै विषम परिस्थितिमा पनि निजामती सेवा यो मूलभूत सिद्धान्तबाट विचलित हुनुहुँदैन भन्ने मलाई लाग्दछ ।

    २०। मुलुकको समृद्धि र सुशासनको लागि राजनीति र प्रशासन एक अर्काका परिपूरक हुन् । अतः राजनीति र प्रशासनबीच आपसी विश्वास, समन्वय र सहयोग हुनु आवश्यक हुन्छ । यस कुरालाई मध्यनजर गरी प्रचलित कानुनको अधीनमा रही समग्र राज्य संयन्त्रको सञ्चालनमा हामी राजनीतिक नेतृत्वको सहयोगी हुनु जरुरी छ ।

    २१। संघीयताको प्रभावकारी कार्यान्वयनमा निजामती प्रशासनको केन्द्रीय भूमिका रहन्छ । यस वस्तुतथ्यलाई मनन गरी निजामती सेवालाई संघीय ढाँचा अनुरूप पुनर्विन्यास र पुनः समायोजन गर्ने कार्यहरू भइरहेका छन् । संविधानको विभिन्न अनुसूचीमा रहेका विभिन्न तहका सरकारको जिम्मेवारीका विषयलाई थप स्पष्ट गर्न विगतमा तयार गरिएको कार्य विस्तृतीकरण प्रतिवेदनलाई समयानुकूल पुनरावलोकन र परिमार्जन गर्दै अघि बढ्नुपर्ने खाँचो छ ।

    २२। तीन तहको शासकीय संरचनासँगै सरकारका तहहरूबीच समानान्तर र ऊध्र्व सम्बन्ध र समन्वय सुदृढ तुल्याउँदै विकास निर्माणका कामलाई गति दिनुका साथै जनतालाई उपलब्ध गराउनुपर्ने सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्ने खाँचो छ ।

    २३। समयको प्रवाहसँगै आफ्नो परम्परागत कार्यशैली, व्यवहार, सोच र चिन्तनमा सुधार ल्याउन नसके हामी असान्दर्भिक र अव्यावहारिक मात्र होइन सर्वसाधारण जनताको नजरमा समेत गर्दछौँ । यसबाट एकातिर जनताले हामीसँग आशा गरेको प्रतिफल दिन हामी असमर्थ बन्छौं भने अर्कोतर्फ मुलुकलाई तीव्र रफ्तारका साथ समृद्धि र सुशासनको दिशातर्फ अघि बढाउन पनि पछि पछौँ । आज झुलाउने, पर्खाउने, ढिलो हिँड्ने छुट कसैलाई छैन । तसर्थ, हामी निजामती सेवक समयको पदचापसँगै जेन–जी पुस्ताको चाहना र भावनाबमोजिम थप प्रतिस्पर्धी र कार्यप्रवीण हुनुपर्ने खाँचो छ ।

    २४। जेन–जी पुस्ताले हामीसँग असल र उत्तरदायी शासनको माग गरेका छन् । देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएका छन् । यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ । यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने हामीले आवश्यक पहलकदमी लिनुपर्दछ ।

    २५। आज निजामती सेवाले एकातिर संविधानमा उल्लिखित राज्यका नीति र दायित्वलाई निष्ठाका साथ कार्यान्वयनमा उतार्नुपर्ने खाँचो छ भने अर्कातर्फ दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, मानव अधिकारको संरक्षण लगायतका अन्तर्राष्ट्रिय दायित्वहरूलाई समेत निर्धारित समयसीमाभित्रै पूरा गर्नुपर्ने आवश्यकता छ ।

    २६। मुख्य सचिवको रूपमा मेरो व्यक्तिगत स्वार्थ, एजेन्डा केही छैन, हुँदैन । मेरो प्रमुख जिम्मेवारी र कर्तव्य भनेको विभिन्न मन्त्रालयहरूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्राप्त हुने विषयहरू मन्त्रिपरिषद्मा छलफलका लागि पेस गरी भएको निर्णय प्रमाणित गरी सम्बन्धित मन्त्रालयमा सम्प्रेषण गर्ने हो । त्यस बाहेक नीतिगत विषयहरूमा अन्तर–मन्त्रालय समन्वय र सहजीकरण गर्ने हो । तसर्थ, मेरो कार्यसफलता भनेको सचिवज्यूहरूले के कस्ता गुणस्तरीय विषयहरू के कति संख्यामा छलफल र निर्णयको लागि अघि बढाउनु हुन्छ, मन्त्रिपरिषद्मा पठाउनु हुन्छ, त्यसमा निर्भर हुने हो । अतः सचिवज्यूहरूको पूर्वक्रियाशीलता, तत्परता र सुधारप्रतिको निष्ठा र लगनशीलताले मेरो मात्र नभई समग्र प्रशासन संयन्त्रको कार्यसम्पादन र नतिजा देखिने र अन्ततः त्यसैको आधारमा सरकारको छवि निर्माण हुने हुँदा त्यसतर्फ सचेत रहन म सबैमा विनम्र अनुरोध गर्दछु ।

    २७। मन्त्रिपरिषद्को निर्णयका लागि सबै अङ्ग पुगेको, गुणस्तरीय, परिपक्व, राष्ट्र र जनताको हित हुने तथा सुशासनलाई प्रवद्र्धन गर्ने प्रकृतिका प्रस्तावहरूमात्र प्राथमिकताका साथ अघि बढाउन र झिना मसिना प्रकृतिका विषय र उत्तरदायित्व पन्छाउने हिसाबले जुनसुकै विषयका प्रस्ताव पनि मन्त्रिपरिषद्को निर्णयार्थ पठाउने प्रवृत्तिलाई अन्त्य गर्न म यहाँहरूलाई अनुरोध गर्दछु । आकस्मिक अवस्था र जरुरी विषयमा बाहेक मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने विषयमा अध्ययन र छलफलका लागि पर्याप्त समय उपलब्ध हुनेगरी तथा सम्बन्धित मन्त्रालयको राय÷परामर्श अनिवार्य संलग्न गरेर मात्र प्रस्ताव पठाउन हुन म आग्रह गर्दछु ।

    २८। जेन–जी पुस्ताको आन्दोलनपछि गठित वर्तमान सरकारको प्रमुख कार्यभार दुईवटा रहेका छन् । पहिलो हो आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने र दोस्रो हो भ्रष्टाचारमुक्त सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने । अतः सरकारका काँधमा रहेका यी दुई महत्त्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न सरकारलाई सबै हिसाबले सहयोग गर्न हामी समग्र प्रशासन यन्त्र प्रतिबद्ध र क्रियाशील हुन जरुरी छ ।

    २९। अन्त्यमा, नव नियुक्त मुख्य सचिवको हैसियतमा देहायका विषयहरूलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न म सचिवज्यूहरू सहित सबै राष्ट्रसेवकहरूसँग हार्दिक आग्रह गर्दछुः

    कार्यसम्पादन गर्न सचिवहरुलाई निर्देशन

    १। वर्तमान सरकारको सबैभन्दा ठुलो दायित्व र प्राथमिकता आगामी २०८२ फागुनमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा प्रतिनिधि सभाको आम निर्वाचन सम्पन्न गराउनु रहेको हुँदा यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग जोडिएका सबै मन्त्रालय र निकायहरूबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएकै मितिमा चुनाव सम्पन्न गराउन आ आफ्नो क्षेत्रबाट प्रतिबद्ध रहने । यस क्रममा मुलुकमा सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, निर्वाचन सम्बन्धी कार्यविधि र निर्देशिकामा गर्नुपर्ने समसामयिक सुधारलाई नेपाल सरकार मन्त्रिपरिषद्बाट यथाशीघ्र अनुमोदन गराउने लगायतका कार्यका लागि आवश्यक सहजीकरण गर्ने ।

    २। सबैलाई निःसङ्कोच र निर्भय रूपमा पूर्ण उत्साहका साथ आम निर्वाचनमा सहभागी गराउन र सबैबीच विश्वासको वातावरण निर्माण ९त्चगकत दगष्मिष्लन० गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन र निर्वाचन आयोगसितको समन्वयमा आ–आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ।

    ३। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान निकाय लगायतका सुरक्षा निकायहरूलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने ।

    ४। आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्रको विषयमा समयमै निर्णय गर्ने, निर्णय गर्न ढिलाइ नगर्ने, नपन्छाउने । एक निकायले राय÷प्रतिक्रिया माग गरेको विषयमा अर्को निकायले तोकिएको समयभित्रै राय÷प्रतिक्रिया पठाउने अन्यथा प्रचलित कानूनबमोजिम हुने व्यवस्था अङ्गीकार गर्ने ।

    ५। सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवालाई थप चुस्त र सूचना प्रविधिमा आधारित बनाउँदै लैजाने । सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र बकपासिङलाई नियन्त्रण गर्न बढी भिडभाड हुने कार्यालयमा सम्भव भएसम्म टोकन प्रणाली वा रिपोर्ट कार्ड लागू गरी कामलाई समयमै चुस्त रूपमा सम्पादन हुने व्यवस्था मिलाउने ।

    ६। सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरूको अनलाइन सेवाबीच अन्तर–आबद्धता कायम गरी सेवाग्राहीलाई एकपटक एउटा सरकारी निकायमा पेस गरेको डकुमेन्ट पुनः अर्को ठाउँमा पेस गर्नु नपर्ने व्यवस्था मिलाउने ।

    ७। हाल सीमित मन्त्रालय÷निकायमा सञ्चालनमा आएको एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणालीलाई सबै मन्त्रालय तथा विभागहरूले अनिवार्य रूपमा चालु आर्थिक वर्षभित्रमा कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउने । सबै सरकारी कार्यालयका महत्त्वपूर्ण सूचना र अभिलेखहरूलाई डिजिटलाइजेसन गरी दीर्घकालसम्म सुरक्षित राख्ने व्यवस्था मिलाउने ।

    ८। निजामती सेवा सहित सबै सुरक्षा निकायको मनोबल उकास्न सम्बद्ध मन्त्रालय÷निकायसँग आवश्यक छलफल÷परामर्श गरी आवश्यक कार्यहरू अगाडि बढाउने ।

    ९। चालु आर्थिक वर्षको स्वीकृत नीति, वार्षिक कार्यक्रम र बजेटको कार्यान्वयनलाई तीव्रता दिई समयभित्रै लक्षित प्रगति हासिल गर्ने, पूँजीगत खर्च उच्च बनाउने ।

    १०। जनताले अनुभूति गर्नसक्ने गरी सार्वजनिक सेवामा गुणात्मक सुधार गर्ने र आमजनताका दैनिक जीवनयापनलाई सहज बनाउने ।

    ११। जनताका गुनासाहरूको तत्काल सम्बोधन गर्ने र हेलो सरकारमार्फत प्राप्त गुनासोको चुस्त र प्रभावकारी तवरमा सम्बोधन गर्ने व्यवस्था मिलाउने ।

    १२। कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गरी काम गर्ने र नगर्नेबीचको भेद छुट्याई प्रोत्साहन र सजायको व्यवस्था गर्ने ।

    १३। विगतमा सुरु गरिएका राम्रा कामहरूलाई निरन्तरता दिने । विगतका कमजोरीबाट पाठ सिकी कार्यपद्धतिमा परिवर्तन ल्याई परिवर्तनको अनुभूति कार्यसम्पादनबाट गराउन प्रयत्नरत रहने । सुशासन र सदाचारलाई प्रशासनिक संस्कृतिको रूपमा स्थापित गर्दै सबै राष्ट्रसेवकहरूले मुस्कान र जिम्मेवारी बोधका साथ सेवाप्रवाह गर्ने पद्धतिको विकास गराउने ।

    १४। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ अवलम्बन गर्ने । सार्वजनिक प्रशासनलाई कुनै पनि किसिमका बिचौलियाको दबाब र प्रभावबाट मुक्त राख्ने ।

    १५। विकास निर्माण कार्यमा अवरोधका रूपमा रहेका प्रमुख विषयहरू पहिचान गरी त्यसलाई तत्काल सम्बोधन गर्न प्रयत्न गर्ने । विकास निर्माण कार्यमा गुणस्तरीयता सुनिश्चित गर्ने ।

    १६। जेन–जी आन्दोलनमार्फत मुखरित भएका सुशासनको संस्थागत विकास, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा आमूल सुधारका विषयहरूलाई उच्च प्राथमिकतामा राखी काम गर्ने ।

    १७। हाल सार्वजनिक स्रोतमा परेको चापलाई मध्यनजर गरी प्रशासनिक खर्चमा उच्च मितव्ययिता अपनाउने । राज्यलाई दीर्घकालीन दायित्व सिर्जना हुने प्रकृतिका कुनै पनि अनावश्यक संरचना र संयन्त्र सिर्जना नगर्ने ।

    १८। नेपाल भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय सार्वभौम क्रेडिट रेटिङमा ९बिबि माइनस० को स्तरमा कायम भएको छ । तर पनि हाम्रो सामु ग्रेलिस्टबाट बाहिर निस्कने, एलडिसी ग्याजुएसनलाई दिगो र सहज बनाउने चुनौती बाँकी नै छन् । साथै, सोह्रौं योजनाको कार्यान्वयन कार्ययोजनाका रणनीति तथा कार्यक्रमहरू निर्दिष्ट लक्ष्य र समयसीमाभित्र सम्पन्न गर्नुपर्ने दायित्व छ । यी सबै पक्षहरूमा पनि आ–आफ्नो क्षेत्रबाट गर्नुपर्ने कार्यहरू तदारुकतासाथ सम्पन्न गर्न म सबैमा अनुरोध गर्दछु ।

    साथै, मैले मेरो व्यक्तिगत तर्फबाट देहायका विषयमा जोड दिनेछु–

    १९। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्तरोन्नति र क्षमता विकास गरी यसलाई ‘उत्कृष्टताका केन्द्र’ को रूपमा स्थापित गर्दै विकास निर्माण र सेवा प्रवाहको नियमित अनुगमन, मूल्याङ्कन र प्रतिवेदन गर्ने प्रभावकारी निकायको रूपमा स्थापित गर्ने ।

    २०। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगमा रहेका अनुगमन तथा सहजीकरण संयन्त्रहरूलाई थप क्रियाशील तुल्याउन जोड दिने ।

    २१। निजामती सेवालाई व्यावसायिक बनाउने क्रममा राष्ट्रसेवकहरूको क्षमता विकास, नैतिकता प्रवद्र्धन, जवाफदेहिता अभिवृद्धि र नेतृत्व क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउन पहल गर्नेछु ।

    २२। कर्मचारीहरूको सरुवालाई स्वचालित र समयबद्ध तथा बढुवालाई पूर्वानुमानीय बनाउन प्रयत्न गर्नेछु । निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गराउन आवश्यक पहलकदमी लिनेछु ।

    २३। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको नतीजा व्यवस्थापन महाशाखाबाट कार्ययोजनाको कार्यप्रगतिको नियमित अनुगमन गर्ने र प्रत्येक महिना तोकिए बमोजिमको नतीजा हासिल भए नभएको समीक्षा गरी सोको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गर्नेछु र विकास आयोजना कार्यान्वयनमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्ने परिपाटीलाई थप चुस्त बनाउनेछु ।

    २४। विकास निर्माणसम्बन्धी कार्यलाई द्रुत र निर्धारित समयमै सम्पन्न गर्न सहयोग पुयाउन यस सम्बन्धी छुट्टै ऐनको मस्यौदा तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिनेछु ।

    २५। छिमेकी राष्ट्रहरूसहित नेपालसँग दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न जोड दिनेछु ।

    म ‘संघे शक्ति कलौ युगे’ अर्थात् सामूहिक भावनामा काम गर्ने कुरामा विश्वास गर्दछु । जसरी एउटा हवाईजहाजलाई निर्धारित गन्तव्यमा सफलतासाथ पुयाउन त्यसका पाइलट मात्र नभएर विमानका सबै चालक दलका सदस्यहरूको उत्तिकै महत्वपूर्ण जिम्मेवारी र भूमिका रहन्छ त्यसैगरी वर्तमान सरकारले अघि सारेका नीति, कार्यक्रम र प्रतिबद्धताहरूलाई मूर्त रूप दिन निजामती सेवाका तलदेखि नेतृत्वतहसम्मका सम्पूर्ण राष्ट्रसेवकहरूको संयुक्त भूमिका रहने हुँदा सबैले आफूलाई तोकिएको जिम्मेवारी समयमै सम्पादन गर्न दत्तचित्त हुनुपर्दछ भन्ने मेरो आग्रह छ । मेरो कार्यकालमा यहाँहरू सबैको साथ र समर्थन पाइरहने विश्वास व्यक्त गर्दछु ।

    अन्त्यमा, निजामती सेवाको साख अभिवृद्धि, क्षमता विकास तथा समग्र कार्यसम्पादनमा सुधार गर्ने विषयमा यहाँहरूबाट प्राप्त हुने रचनात्मक सुझाव र मार्गदर्शनलाई गम्भीरतासाथ ग्रहण गर्दै निजामती सेवालाई सुशासन, सदाचार र सार्वजनिक सेवाको मियोको रूपमा स्थापित गर्न एवं नयाँ नेपाल निर्माणको कुशल सारथी र संवाहक बनाउन मुख्य सचिवको हैसियतमा गर्नुपर्ने अन्तर निकाय समन्वय, सहजीकरण र सहयोगका लागि म सदैव प्रतिबद्ध रहनेछु भन्दै मेरो मन्तव्य यही टुङ्गयाउँदछु । धन्यवाद

    नेपाल सरकारका नवनियुक्त मुख्य सचिव सुमनराज अर्याल आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद वहाली गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
  • विचारः स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

    काठमाडौँ, धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका छन् । विश्वका धेरै देशहरुमा चिया, कफीको सेवन निकै हुने गरेको छ । अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्दछ । नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्दछ । पछिल्लो समय कफीको प्रयोग गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ । नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्य रुपमा लिने गरिन्छ । यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका दृष्टिले कत्तिको लाभदायक छ भन्ने कुरा उल्लेख गरिएको छ ।

    संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो । हामीले धेरैथरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसैकसैले चिनी नहालेको चिया मन पराउँछन् । दूध–चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ । स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पु¥याउँछ भनी खबरदारी गर्छन् । यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध–चिनी केही पनि नमिसाइ कालो चिया पिउने गर्छन् । कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् ।

    कस्तो चिया फाइदाजनक ?

    स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ । हामीले दिनदिनै दुई–चार कप चिया पिएकै हुन्छौँ । हरियो र कालो दुवै चिया एउटै जातको ‘क्यामेलिया’ नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ । हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरू नष्ट हुँदै जान्छन् । यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यवद्र्धक मान्नुपर्छ ।
    
    हरियो चियामा स्वास्थ्यवद्र्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिदैन । चियामा भएको गुणकारी तत्वहरू पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पु¥याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ ।
    
    चियालाई धेरै बेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरू निष्क्रिय भइदिन्छन् । यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो । हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुप¥यो ? फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौँ । यी चिजहरू खाए भइहाल्यो नि ! चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनुप¥यो !
    
    कोक, फन्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध–चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ । यस्तो चिया दैनिक एक–दुई कप पिउँदा केही पनि हानि छैन । तर जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पु¥याउनुपर्छ कस्तो चिया पिउने ? कति कप पिउने ? कुनबेला पिउने ? चिनी–दूध हाल्ने कि नहाल्ने ? भन्ने कुरा आफ्नो स्वास्थ्यअनुसार विचार गर्न सकिन्छ ः
    
    यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको (४०० भन्दा बढी नै) छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो ।
    
    पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरूले दूधबिनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ । तर तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खाली पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ । 
    
    तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस् । यसभन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पु¥याउनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक दुई कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् । तर दैनिक दुई कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ ।
    
    यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस् तर सावधान ! धेरै नपिउनुहोस् ।

    कफीको नशा

    चिया जस्तै कफीको स्वादमा रमाउने मानिस पनि विश्वमा धेरै छन् । धेरैलाई कफीको नशाबारे थाहा छैन । कफी र रक्सी दुवैमा नशा लाग्ने तत्व हुन्छ । कडा कफी पिउने बानी भएकाहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपर्दा उनीहरू रक्सी छोड्छन् । रक्सी छोड्नसक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमाभन्दा पनि कडा नशा कफीमा छ भनी बुझ्नुपर्छ । चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर असर पार्छ । रक्सी र चुरोटको लत बसेकाहरूले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्नेजस्ता समस्या देखा पर्छन् । यसलाई ‘विड्रअल इफेक्ट’ भनिन्छ । कफीको लत बसेकाहरूले कफी पिउन नपाउँदा यस्तै अवस्था उत्पन्न हुन्छ ।
    
    संसारमा धेरै पिइने पदार्थहरूमध्ये एक हो कफी । विकसित राष्ट्रहरूमा आधा जनसङ्ख्याले कफी सेवन गर्ने गरेका छन् । त्यहाँ प्रत्येक दिन एक जनाले सरदर तीन कप कफी पिउने गर्छन् । कफीको उत्पादन भने सबैभन्दा बढी विकासोन्मुख राष्ट्रहरूमा हुने गरेको छ । कफीको खेती संसारका ७० भन्दाबढी देशमा गरिन्छ । सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल हो । यो देशले संसारको कूल ३५ प्रतिशत कफी उत्पादन गर्दछ । नेपालमा पनि कफीको उत्पादन हुन्छ । नेपालमा पाल्पा र गुल्मीका कफीहरू प्रख्यात छन् ।

    कति पिउने कफी ?

    रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएजस्तै कफीमा क्याफिन हुन्छ । यसमा एक प्रकारको लत वा नशा बस्छ । मान्छेले एकपटक पिएपछि फेरि पनि पिउँपिउँ जस्तो लाग्ने कारण यही हो । दुई चिया चम्चा धुलो कफी मिसाएको एक कप कफीमा सय मिलिग्राम क्याफिन हुन्छ । स्वास्थ्यका दृष्टिले दैनिक दुई सयदेखि चार सय मिलिग्रामसम्म क्याफिन पिउन सुरक्षित मानिन्छ । अर्थात् एक जनाले दुईदेखि चार कपसम्म दैनिक कफी पिउन सक्छन् । तर कफी पिउन हुने÷नहुने भन्ने कुरा व्यक्तिको स्वास्थ्य स्थितिमा भर पर्छ ।
    
    क्याफिन तत्व कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिङ्क्स र इनर्जी ड्रिङ्क्समा पनि पाइन्छ । इनर्जी ड्रिङ्क्स पिउँपिउँ लाग्ने कारण पनि क्याफिनको नशा लागेर हो । कफीले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ । यसले दिमाग र मुटुमा असर पार्ने, मुटुलाई उत्तेजित बनाउने एवं पाचन प्रणालीमा पनि असर गर्छ । थोरै प्रयोगले खासै असर नगरे पनि, धेरै हुनेबित्तिकै पाचन प्रणालीमा असर पार्छ । दैनिक चार कपभन्दा बढी कफीलाई धेरै मान्नुपर्छ । कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काँप्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, अपच हुनेजस्ता समस्या देखिन सक्छन् । धेरै भयो भने मृत्युसमेत हुन सक्छ । दिनमा ५० कपदेखि एक सय कपसम्म कफी पियो भने मृत्युसमेत हुन सक्छ । १० हजार मिलिग्राम क्याफिन शरीरमा प¥यो भने तत्काल मृत्यु हुनसक्छ ।
    
    कुनै व्यक्तिलाई कफी शरीरमा पर्नेबित्तिकै आनन्द महसुस हुन्छ भने कतिपयलाई छटपटी हुन्छ । कसैकसैलाई अलिकति कफी पिउनेबित्तिकै असर पर्छ, यसलाई कफीमा ‘सेन्सेटिभ’ भएको भनिन्छ । कफीमा सेन्सेटिभ भएकाहरूलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने, निद्रा नपर्ने, अपच हुने, रक्तचाप बढ्ने, छिटोछिटो पिसाब लाग्नेजस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मुटुको धड्कन खराब भएकाहरूले दैनिक एक कपसम्म कफी पिउनु सुरक्षित मानिन्छ । 

    विज्ञानले भन्छ–एक कप कफी गर्भवतीहरूका लागि समेत सुरक्षित छ तर यसभन्दा बढी भएमा गर्भपात हुने वा कम तौल भएको बच्चा जन्मिने खतरा बढ्छ । १८ वर्ष उमेरमुनिका र गर्भवती महिलाले कफी नपिउँदा बेस हुन्छ । आफ्नो स्वादअनुसारको कफी पिउने गर्नुहोस् । कालो, दूध–चिनी नहालेको ‘ब्ल्याक’ अथवा ‘मिल्क विथ सुगर’, ‘कफी लाटे’, ‘अमेरिकानो’, ‘एक्सप्रेसो’, ‘क्यापुचिनो’ आदि जुन स्वादिलो लाग्छ, छानीछानी पिउने गर्नुहोस् । यसबाट स्वाद, सन्तुष्टि र सुस्वास्थ्य प्राप्त हुन्छ ।

    कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धानहरू भएका छन् । कफी सेवन नगर्नेहरूको तुलनामा कफी सेवन गर्नेहरू धेरै वर्ष बाँच्ने गरेको कुरा वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् । दैनिक दुईदेखि चार कपसम्म कफी पिउनेहरूमा अरूको तुलनामा १६ प्रतिशतले मृत्युदर कम भएको पाइएको छ भने २१ प्रतिशतले हृदयघातबाट हुने मृत्यु घटेको पुष्टि भएको छ । हृदयघात भइसकेकाहरूका लागि पनि कफीको सेवन लाभदायी देखिन्छ । दैनिक दुईदेखि चार कपसम्म कफी पिउँदा यसले स्वास्थ्यमा राम्रो असर पार्छ ।
    
    विज्ञानले के पनि भन्छ भने कफीले मधुमेह र मुटुरोगबाट बचाउन मद्दत गर्छ । दिमागसम्बन्धी रोग– ल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ । पार्किन्सन्स रोग, लिभर सिरोसिस र क्यान्सर हुनबाट पनि धेरै हदसम्म रोक्छ । हिजोआज धेरै मानिसलाई कलेजोमा बोसो जम्ने रोग छ । यसलाई नन अल्कोहोलिक फ्याट्टी लिभर पनि भनिन्छ । यसलाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ । तर गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ । किनकी उनीहरूलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पुर्‍याउँछ । त्यसैले भरसक आफ्नो शरीरको स्थितिलाई विचार गरेर कफी पिउँदा राम्रो हुन्छ । दूध र चिनी नहालेको ब्ल्याक कफी पिउँदा स्वाद, सन्तुष्टि र सुस्वास्थ्यसमेत पाउन सकिन्छ । (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुुहुन्छ)

    प्रा डा प्रकाशराज रेग्मी (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुुहुन्छ)

  • एनपिएल अपडेट: सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित, मार्क वाट र करण केसी चम्किँदै

    काठमाडौँ, मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) २०८२/८३ अन्तर्गत आज ‘विश्राम दिन’ रहँदा कुनै खेल नभएको छ। हालसम्म ३२ खेलमध्ये आठ खेल सम्पन्न भइसकेका छन् भने सोमबारका लागि दुई खेल निर्धारित छन्।

    अङ्क तालिका:

    सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स दुई/दुई खेलमा अविजित रहँदै क्रमशः चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्।

    काठमाडौँ गोर्खाज तीन खेलमा एक जीतसहित दुई अङ्कमा तेस्रो स्थानमा।

    लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एक/एक खेलमा जित हात पार्दै चौथोदेखि छैटौँ स्थानमा छन्।

    जनकपुर बोल्ट्स एउटै खेल खेलेको र अङ्कविहीन सातौँ स्थानमा छ।

    पोखरा एभेञ्जर्स दुवै खेलमा हार बेहोरेर तालिकाको पुच्छारमा छन्।

    खेलाडी प्रदर्शन:

    मार्क वाट (कर्णाली याक्स): लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ११४ रन बनाए, दुई विकेट लिएका र दुई क्याच लिएका। कुल दुई खेलमा १३० रन।

    कुशल भूर्तेल: दुई खेलमा ११२ रन, एक विकेट, दुई क्याच आउट।

    हर्मित सिंह: ५७ रन, चार विकेट।

    ब्याटिङमा विदेशी खेलाडी हावी:

    शीर्ष १० ब्याटरमध्ये सात जना विदेशी।

    स्कट्ल्याण्डका मार्क वाट १ शतकसहित १३० रन।

    इङ्ग्ल्याण्डका रवि बोपारा ११८ रन।

    भारतीय प्रियाङ्क पञ्चाल १०२ रन।

    बलिङ प्रदर्शन:

    करण केसी (काठमाडौँ गोर्खाज): सबैभन्दा बढी ६ विकेट, सुदूरपश्चिम रोयल्सविरुद्ध ४ विकेट।

    मिलिन्द कुमार: पाँच विकेट, जनकपुर बोल्ट्सविरुद्ध ३ विकेट।

    हर्मित सिंह र मर्चेन्ट डे लांगे समान ४–४ विकेट।

    सहाब आलम: किफायती बलिङ, औसत ४.७२ प्रति ओभर।

    स्ट्राइक रेट र क्याच:

    चितवनका सैफ जैब उच्च स्ट्राइक रेट २३०.४२।

    आठ खेलमा ५९ क्याच आउट, ४० खेलाडीले क्याच लिएका।

    कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम तीन/तीन क्याचमा अगाडि।

    टोलीको उच्च स्कोर:

    विराटनगर किङ्ग्स: २० ओभरमा ६ विकेटमा २२० रन।

    सुदूरपश्चिम रोयल्स: पोखराविरुद्ध १९३ रन।

    कम स्कोर: काठमाडौँ गोर्खाज ११८ मा अलआउट।

    एनपिएलमा विदेशी खेलाडीहरूको प्रभुत्व र घरेलु खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई रोचक बनाएको छ।

  • यमनमा हुथी अदालतद्वारा १७ जनालाई जासुसीमा मृत्युदण्ड, अन्तर्राष्ट्रिय चिन्ता बढ्दै

    यमनको राजधानी सानास्थित हुथी नियन्त्रणमा रहेको विशेष फौजदारी अदालतले विदेशी शक्तिहरूका लागि जासुसी गरेको आरोपमा १७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित साबा समाचार एजेन्सीका अनुसार उनीहरूलाई फायरिङ स्क्वाडद्वारा सार्वजनिक रूपमा सजाय कार्यान्वयन गर्ने निर्णय गरिएको हो।

    अदालतले दोषी ठहरेमध्येका व्यक्तिहरूलाई अमेरिकी, इजरायली, साउदी र बेलायती गुप्तचर एजेन्सीसँग प्रत्यक्ष रूपमा जोडिएको जासुसी सञ्जाल भित्र सक्रिय रहेको आरोप लगाएको छ। अभियोजनअनुसार २०२४–२५ को अवधिमा उनीहरूले यमनसँग विरोधी विदेशी राज्यहरूसँग संवेदनशील सैन्य तथा संरचनागत जानकारी सुम्पिएका थिए, जसका कारण ठूला मानवीय क्षति र पूर्वाधार विनाश भएको दाबी छ।

    यससँगै, एक पुरुष र एक महिलालाई १० वर्षको कैद सजाय सुनाइएको छ भने एक अभियुक्त निर्दोष ठहरिएका छन्। वकिल अब्दुलबासित गाजीका अनुसार निर्णयविरुद्ध अपिल दर्ता गर्न सकिनेछ।

    हुथी प्रशासनद्वारा कडाइबढ्दो दमन

    यमनमा सन् २०१४ देखि सुरु भएको गृहयुद्धपछि हुथीहरूद्वारा गिरफ्तारी, यातना, जबर्जस्ती गायब पारिने घटना र कडा सजाय सामान्यजस्तै बनेका छन्। पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीदेखि अन्तर्राष्ट्रिय सहायता संस्थाका स्थानीय कर्मचारीसम्म जासुसी आरोपमा गिरफ्तार पारिएका छन्, जुन सबै आरोपलाई राष्ट्रसङ्घले निरन्तर अस्वीकार गर्दै आएको छ।

    यसअघि पनि हवाई आक्रमणमा हुथी नेता सालेह अल–समदको मृत्युमा संलग्न भएको आरोपमा २०२१ मा नौ जनालाई मृत्युदण्ड दिइएको थियो।

    क्षेत्रीय तनाव झन् गहिरिँदै

    सन् २०२३ अन्त्यतिर गाजा युद्धसँगै हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा जहाजहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण बढाएपछि क्षेत्रीय तनाव चर्किएको थियो। ‘प्यालेस्टिनी समर्थनका लागि’ कारबाही गरिरहेको दाबी गर्ने हुथी पक्षको आक्रमणको प्रतिउत्तरमा अमेरिका र इजरायलले व्यापक हवाई तथा नौसैनिक अभियान सञ्चालन गरेका छन्।

    यस वर्षको सुरुमै इजरायली आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीसहित प्रमुख मन्त्रीहरूको मृत्यु भएसँगै यमनको स्थितिले अझै जटिल रूप लिएको छ।