Category: अन्य

  • सर्वोच्च अदालत जलाएको आरोपमा पूर्व स्ववियू नेता विष्णु ढुंगेल पक्राउ

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा गरिएको आगजनी प्रकरणमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।
    उनी पूर्वमाओवादी पृष्ठभूमिका विद्यार्थी नेता हुन्।

    प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। सर्वोच्च अदालत जलाउने क्रममा ढुंगेलको उपस्थिति देखिएको भिडियो तथा तथ्य प्रमाणको आधारमा उनी पक्राउ परेका प्रहरी स्रोतले पुष्टि गरेको छ।

    यसअघि सर्वोच्च आगजनी काण्डमा संलग्न भएको आरोपमा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। ढुंगेल पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

    सर्वोच्च अदालत जलाउने व्यक्तिहरूलाई पत्ता लगाएर कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले समन्वय गर्दै विशेष अपरेशन सञ्चालन गरिरहेको छ।