काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनमा आज देश–विदेशमा व्यस्त छन्। करिब ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्य रहेको एमालेले यस महाधिवेशनका लागि झण्डै २,२०० प्रतिनिधि चयन गर्ने तयारी स्वरूप जिल्ला–जिल्लाका कमिटीदेखि प्रवाससम्म चहलपहल बढेको छ।
यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि अनिवार्य गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै प्रदेश कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, विशेष जिल्ला संरचना, दलित तथा ट्रेड युनियन क्षेत्रबाट समेत प्रतिनिधि चयनको प्रक्रिया समानान्तर रूपमा अघि बढिरहेको छ। प्रतिनिधि छनोटमा सहभागी हुन कार्यकर्ता बिहानैदेखि सभा, बैठक र कागजी प्रक्रियामा जुटिरहेका छन्।
पार्टी विधानअनुसार महाधिवेशनमा ४६४ स्वतः प्रतिनिधि सहभागी हुने व्यवस्था छ। जसमा आयोजक केन्द्रीय कमिटीका ३५४ सदस्यसहित अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा सल्लाहकार परिषद्को समावेशी संरचनाबाट प्रतिनिधि रहनेछन्। बाँकी प्रतिनिधि भने निर्वाचन क्षेत्र तथा संगठनका विभिन्न तहमा रहेका सदस्यबाट चयन भइरहेका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १,२०० सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला प्रतिनिधि चयन गर्ने प्रावधानलाई कार्यान्वयन गरिरहेको छ। यही मापदण्डअनुसार अहिले अधिकांश जिल्लामा प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको र केही स्थानमा मतदान तथा सर्वसम्मतिको प्रक्रियाहरू जारी रहेको उनले बताए।


