Category: Uncategorized

  • आगामी निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिको अनुमोदन

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थालाई कडा बनाउन सेना परिचालन गर्ने निर्णय भएको छ।
    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

    उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निर्दलिय र सुरक्षित वातावरणमा सम्पन्न गर्न सेनाको सहकार्य आवश्यक भएकाले स्वीकृति प्रदान गरिएको हो। अब सेना निर्वाचन सुरक्षा योजनाअनुसार गृह मन्त्रालय र निर्वाचन आयोगसँग समन्वय गरेर जिम्मेवारीका क्षेत्र तय गर्नेछ।

  • धनगढीमा एमाले–जेनजी युवाबीच तनाव, बस्नेतविरुद्धको प्रदर्शनमा हातपात

    धनगढी, कैलालीको धनगढीमा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरूबीच भीडन्तजस्तो तनाव उत्पन्न भएको छ। एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेनजी कार्यकर्ता र स्वागतका लागि पुगेका एमाले समर्थकहरू आमनेसामने परेपछि केही घाइते समेत भएका छन्।

    धनगढी विमानस्थलमा स्वागत समारोहपछि बस्नेतलाई कार्यक्रमस्थलतर्फ लैजाने क्रममा जेनजी युवाहरूले जेनजी मार्गनजिक विरोध प्रदर्शन गरिरहेका थिए। ‘गुण्डुको गुण्डाः गो ब्याक’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवाहरू सडकमा उभिएका थिए।

    यही क्रममा मोटरसाइकल र्‍यालीसँगै आएका एमालेनिकट युवा कार्यकर्ताहरूले प्रदर्शन रोक्न खोज्दै जेनजी कार्यकर्तामाथि हातपात गरेको आरोप लगाइएको छ। घटनामा केही जेनजी युवा सामान्य घाइते भएका छन्।

    बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन्। पछिल्ला दिनमा उनी जहाँ–जहाँ पुगिरहेका छन्, त्यही–त्यही जेनजी युवाद्वारा विरोध प्रदर्शन भइरहेका छन्। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रदर्शन भएको थियो। यसअघि बाराको सिमरा र मोरङको विराटनगरमा पनि उनीविरुद्ध तीव्र नाराबाजी भएको थियो।

    मंसिर ३ मा सिमरा विमानस्थलमा भएको ठूलो प्रदर्शनका क्रममा जेनजी युवा र प्रहरीबीच झडप भएको थियो, जसपछि प्रशासनले कर्फ्यु लागेकाे थियो। मंसिर ७ मा विराटनगरमा पनि युवाहरूले बस्नेत सवार गाडीमा रातो रङ छ्यापेका थिए।

    भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बस्नेतले जेनजी कार्यकर्तालाई ‘आतंककारी’ सम्बोधन गर्ने, टिकटक–रिल बनाउनेलाई कारबाही गर्ने तथा सिंहदरबार जलाउनेहरू आतंककारी भएकोजस्ता अभिव्यक्तिहरू दिएका थिए। यिनै अभिव्यक्तिले जेनजी समूह र एमालेबीचको तनाव थप चर्किएको छ।

    यता, बस्नेतका कडा अभिव्यक्तिले भने उनको पार्टीभित्र समर्थन झनै मजबुत भईरहेको एमाले स्रोतहरू बताउँछन्।

  • वेस्ट बैंकमा इजरायलको नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन : उत्तरी सामरियामा ठूलो सैन्य गतिविधि

    इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको उत्तरी भागमा नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन सुरु गरेको छ। बुधबार जारी गरिएको संयुक्त सैन्य तथा आन्तरिक सुरक्षा सेवाको विज्ञप्तिमा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ क्षेत्रमा सञ्चालन भइरहेको व्यापक सुरक्षात्मक पहलको एक महत्वपूर्ण चरणको रूपमा उल्लेख गरिएको छ।

    विज्ञप्तामा वेस्ट बैंकका केही भागलाई संकेत गर्न बाइबलीय शब्द प्रयोग गर्दै अपरेसन औपचारिक रूपमा सुरु गरिएको पुष्टि गरिएको छ। एएफपीलाई दिएका उत्तरमा इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाे अभियान रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पुरानो आतङ्कवाद विरोधी कारबाहीको निरन्तरता नभएको स्पष्ट पारेको छ। पहिलाको अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरहरू लक्षित थियो।

    सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणपछि गाजा युद्ध सुरु भएसँगै हिंसा तीव्र बनिरहेको छ। गाजामा अक्टोबर १० देखि नाजुक युद्धविराम औपचारिक रूपमा कायम भए पनि वेस्ट बैंकमा झडप र गोली प्रहार रोकिएको छैन।

    एएफपीले प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका तथ्याङ्कमा आधारित भएर तयार पारेको विवरणअनुसार, गाजा युद्ध सुरु भएयता वेस्ट बैंकमा इजरायली सेना वा यहूदी बसोबासकर्ताद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। तीमध्ये धेरैजना सशस्त्र समूहका सदस्य भए पनि ठूलो संख्या सामान्य नागरिकको पनि ज्यान गएकै छ।

    यता, इजरायली सैनिक र नागरिक गरी कम्तिमा ४४ जनाको मृत्यु भएको इजरायलले जनाएको छ।
    नयाँ अपरेसन सुरु भएकाले वेस्ट बैंकमा थप अस्थिरता बढ्ने चेतावनी सुरक्षा विश्लेषकहरूले दिएका छन्।