सूचना नेपाल
१२ साउन २०८१, शनिवार

नेताहरु नै बोल्न छाडे कांग्रेसमा !

काठमाडौं । नेपाली कांग्रेस जागरण अभियानमा जुटिरहेका बेला स्थानीय तहका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई आलोचनाको तारो बनाईरहेका छन् । 

निर्वाचनमा पार्टीको पराजय, महासमितिको निर्णयको उलंघन र शीर्ष तहका नेताहरुवीच देखिएको चर्को मतभेद जस्ता बिषयलाई कार्यकर्ता तहले पार्टी कमजोर हुँदै जानुको प्रमुख कारण भनेका छन् । सबै नेताले स्थानीय तहबाट चुनिएर आउनुपर्ने भनी महासमितिले गरेको निर्णयलाई सभापति शेरबहादुर देउवाले ‘हुकुमी शैलीमा’ उपेक्षा गरेको भनी स्थानीय नेता कार्यकर्ताको निकै ठूलो आपत्ती रहेको देखिएको छ । 

भर्खरै कांग्रेस प्रवेश गरेका केही नवधनाढ्य व्यापारीको प्रभावमा परेर सभापति देउवाले पार्टी संगठन र कार्यकर्ताको भावनालाई गलहत्याएको भन्दै उनीहरुले जनजागरण अभियानका क्रममा विभिन्न जिल्लामा आक्रोश प्रकट गरेको देखिएको छ ।
 
नेतृत्व तनावमा

कांग्रेसभित्र पार्टीको आन्तरिक मामिलामा खुलेर टिकाटिप्पणी हुनुलाई नौलो कुरा मानिँदैन । सभापतिकै कार्यशैलीलाई लिएर अरु नेताहरुले सार्वजनिक सभाहरुमा पनि चर्को आलोचना र टिप्पणी गर्ने परम्परा नै छ कांग्रेसमा  । तर यता आएर सभापति देउवा भने आफ्नो आलोचना गर्ने नेताहरुप्रति निकै असहिष्णु बन्दै गएको देखिएको छ ।

खासगरी केन्द्रीय सदस्य शेखर कोइरालाप्रति सभापति देउवा बढी नै पूर्वाग्रही बनेको केन्द्रीय सदस्यहरुले नै महसुस गरिरहेका छन् । सभापति देउवाले केही सार्वजनिक कार्यक्रममा ‘नेपाली कांग्रेस कोइराला परिवारको वपौति नभएको’ भनी निकै रुखो भाषामा आलोचना गरेको कुरालाई लिएर कांग्रेसको देउवा इतर पक्षमा गम्भीर चर्चाको बिषय बनिरहेको एक नेताले बताए । 

नेता शेखरले सभापति देउवाको कार्यशैलीको निरन्तर आलोचना गरिआएका छन् । उनी आगामी महाधिवेशनमा सभापति पदका बलिया उम्मेदवार भनि चर्चामा पनि छन् । सधैं देश दौडाहामा व्यस्त रहेका कोइराला सभापति देउवाको टाउको दुखाईको बिषय भएको बुझिन्छ । 

थाहा भएअनुसार,जनजागरण अभियानकै क्रममा नेतृत्वको आलोचना गर्ने नेताहरुको रिपोर्ट तत्कालै केन्द्रमा पठाउनु भनेर केन्द्रीय अनुशासन कमिटिले सर्कुलर नै गरेको छ ।

बोलचालै बन्द ?

सबै नेता स्थानीय तहबाट चुनिएर आउनुपर्ने बिषयमा कांग्रेस नेतृत्वको ठूलो पंक्ति सतर्क देखिन्छ । अधिकांश नेतालाई तल्लो तहमा हुने प्रतिष्पर्धा आफ्ना लागि प्रत्युत्पादक हुने भूतले तर्साएको देखिन्छ । त्यसैले महासमितिको निर्देशन उलंघन गर्ने सभापति देउवाको अवैध निर्णयमा उनीहरुको मौन सम्मति रहेको बुझ्न सकिन्छ । 

यही कारणले आफूलाई ‘वरिष्ठ’ नेता मानिरहेका रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, युवा नेता गगन थापा लगायतले पार्टीको आन्तरिक मामिलामा नबोल्न सभापतिले दिएको निर्देशन शीरोधार्य गरेका हुन् । खरो विश्लेषण र आलोचना गर्ने युवा नेता विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारी पाएपछि कांग्रेसभित्र नेतृत्वको आलोचना गर्ने नेता शेखर नै पहिलो पंक्तिमा देखिएका छन् । 

सोही कारणनै उनलाई तारो बनाएर सभापति स्वयं आक्रमणमा उत्रिएका हुनसक्ने बताइन्छ । कोइराला पनि सभापति देउवाले पार्टीभित्र राणा शासकको जस्तो शैली अवलम्वन गरेको भन्दै चोटिलो जवाफ फर्काउने गरेका छन् । 

देउवा र कोइरालाबीच चलिरहेको वाकयुद्ध कांग्रेसको जागरण अभियानमा पनि जारी छ र चर्चित पनि भएको छ । कोइराला जहाँ पुगेका छन् त्यहाँ उनले सभापति देउवाको कार्यशैलीलाई तारो हान्न बाँकी राखेका छैनन् । सभापति देउवाले केही समय अघि वीरगञ्जको पार्टी कार्यक्रममा बोल्दै ‘नेपाली कांग्रेस कोइराला परिवारको विर्ता होइन, सामथ्र्य भए चुनाव लडेर नेतृत्व लिए हुन्छ’ भनेर शेखरलाई नै लक्षित गरेर चुनौति दिएको कांग्रेसजनको बुझाई छ । त्यसपछि त देउवा र कोइरालाको प्रत्यक्ष बोलचालमै हिउँ जमेको एक नेता बताउँछन् ।

देउवाको आरोप

गएको शुक्रबार आयोजित एक कार्यक्रममा सभापति देउवाले नेता कोइरालालाई नै लक्षित गर्दै भनेका थिए– ‘पार्टीमा आन्तरिक प्रतिस्पर्धा त हुन्छ तर यहाँ दुश्मनी नै हुन थालिसक्यो । बोलचाल नै बन्द भइसक्यो, कांग्रेसले कांग्रेसलाई नै हराउने गरी अन्तर्घात भएपछि कहाँ चुनाव जित्न    सकिन्छ ? गिरिजाबाबु, सुशील सभापति हुँदा चुइँक्क बोल्न नसक्नेहरु अहिले बोल्न पाएका छन् ।  कांग्रेसमा बल्ल प्रजातन्त्र आएको छ । एकअर्कालाई गाली गरेर केही हुन्न चुनाव जित्ने गरी काम गर्नुहोस् ।’

कोइरालाको जवाफ

यता, त्यसको भोलिपल्ट शनिबार चितवन–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा नेता कोइरालाले सभापति देउवालाई मुखभरीको जवाफ दिएको एक केन्द्रीय सदस्य सुनाउँछन् । उनले भने– ‘सभापति देउवाका अभिव्यक्ति र गतिविधि राजनीतिक संस्कार र नैतिकता अनुसारका भएनन् । सभापति भएर गुट चलाउने ? अझै बोलचाल गर्ने वातावरण छैन भन्ने ? सभापतिले बनाउनुप¥यो नि बोलचाल गर्ने वातावरण ।’ 

देउवाले पार्टीलाई तदर्थवादमा लैजाने कोशिस गरेको आरोप लाउँदै उनले भने– ‘चारजनाले तरुण दल हाँकिरहेका छन्, पूर्णता पाउन सकेको छैन, नेविसंघ नेतृत्वविहीन भएको महिनौं भइसक्यो । यसरी तदर्थवादमा भ्रातृ संगठन र पार्टी चलाउन पाईन्छ ?’

जागरण अभियानको औचित्यमाथि नै टिप्पणी गर्दै नेता कोइरालाले ‘गाउँदेखि वडासम्म इकाइ नै नबनेको अवस्थामा कसलाई जागरुक बनाउन राष्ट्रिय जागरण अभियान चलाउने ? भनेर प्रश्न गरेका थिए । उनी यतिमै रोकिएनन् र भने– ‘जागरण कसलाई चाहियो ? नेतृत्वलाई, हामीलाई कि तपाईंहरूलाई ? तपाईंहरू त यसै जागरुक हुनुहुन्छ नै । झगडा गरिराख्ने हामीलाई जागरण चाहिएको हो कि ?’

कांग्रेसका एक पूर्व महामन्त्रीका अनुसार, शेखरले सभापति देउवाबाट आफूलाई धोका भएको महसुस गरेका छन् । गत १३ औं महाधिबेशनमा शेखर महामन्त्री पदमा चुनाव लड्ने तयारीमा थिए । ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेलको नेतृत्वमा टिम नै बनाएर शेखरले देशव्यापी अभियान चलाएका थिए । पौडेल सभापति र आफू महामन्त्रीमा चुनाव लड्ने घोषणाका साथ शेखरअघि बढेका थिए ।  

महाधिबेशन आउनुभन्दा करिव दुई महिनाअघि सभापति सुशील कोइरालाको अचानक निधन भयो । सभापति कोइरालाको निधनपछि देउवा इतर पक्षबाट सभापतिको उमेदवार सर्वसम्मत रुपमा पौडेल बने । तर पौडेलले देउवासँगको लाभदायी गोप्य छलफलपछि शेखरसँगको पूर्वसहमति र सहकार्य तोड्दै धोका दिए अनि महामन्त्रीका  शशांक कोइरालालाई महामन्त्रीको उम्मेदवार भनी अघि सारे । यो समीकरण बदल्नमा पौडेलले धोकेबाजको भूमिका निर्वाह गरेर देउवालाई खुशी पारेको ती पूर्व महामन्त्रीको भनाई छ ।

कमजोर विपक्षी नेता

संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले केही जल्दाबल्बदा मुद्दा उठाउन नसकेको गुनासो पनि सुनिन्छ । सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियत संसदमा प्रस्तुत गर्न नसक्दा सरकारले आफूखुशी पेलेर निर्णयहरु गर्न पाएको कांग्रेसका एक पूर्व अर्थमन्त्रीको भनाई छ । अहिले चर्चामा रहेको मिडिया काउन्सील विधेयक र आउन लागेको आमसञ्चार विधेयकमा कांग्रेसले प्रेस स्वतन्त्रताको बिषयमा संसदमा जमेर बहस गर्नुपर्ने ती पूर्वमन्त्रीको धारणा छ । उनका बिचारमा कांग्रेसले यी विधेयकमा प्रेस जगतको माग र भावना अनुसार सुधार गर्न पहल गर्नुपर्छ । (फायल तस्बिर)

Citizen
प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !