काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। एक समय असम्भव जस्तै देखिएको लक्ष्य बसिर अहमदको उत्कृष्ट ब्याटिङले सम्भव बन्यो।
कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउँदै विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
सुरुवात नै कमजोर बनेको विराटनगरका लागि ओपनर लोकेश बम ६ रनमा आउट भए भने जर्ज मुन्से खाता नै नखोली पभेलियन फर्किए। त्यसपछि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन बनाए।
तर, त्यसपछि क्रिजमा आएका बसिर अहमदले ४३ बलमा धमाकेदार ६२ रन प्रहार गर्दै खेलको दिशा मोडे। उनले तीन चौका र तीन छक्का प्रहार गरे।
नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण सहायक पारी खेले।
अन्तिम ओभरमा जीतका लागि १० रन चाहिएको अवस्थामा बसिरले पाँचौ बलमा प्रहार गरेको छक्काले विराटनगरलाई जीत दिलायो। पहिलो १४ ओभरसम्म सुस्त रहें पनि विराटनगरले अन्तिम पाँच ओभरमा मात्र दुई विकेट गुमाएर ७१ रन बटुलेको थियो।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई–दुई विकेट लिए। पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनाएको थियो।
प्रियान्क पञ्चालले सर्वाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८ रन जोडे। यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे।
विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले एक–एक विकेट हात पारे।
एनपिएलमा बसिर अहमद १३औँ अर्धशतककर्ता बने
विराटनगर किङ्ग्सका बसिर अहमद आजको उत्कृष्ट पारीसँगै यस सिजनमा अर्धशतक प्रहार गर्ने १३औँ खेलाडी बनेका छन्।
उनले कर्णालीविरुद्ध ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे।
जारी सिजनमा हालसम्म १७ अर्धशतक बनेका छन्।
तीमध्ये
चितवन राइनोजका रवि बोपारा — ३
पोखरा एभेन्जर्सका कुशल भुर्तेल — २
कर्णाली याक्सका प्रियान्क पञ्चाल — २
यस्तै, एक–एक अर्धशतक बनाउनेमध्ये विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, लोकेश बम, मार्टिन गुप्टिल, सुमित बर्मा, जोन सिम्प्सन, वायन पार्नेल र आशिफ शेख रहेका छन्।
कर्णालीका मार्क वाट जारी लिगमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्।

Leave a Reply