Author: admin

  • प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षीबीच टेलिफोन वार्ता, सहयोगका लागि श्रीलंका आभारी

    काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिणी अमरसुरियाबीच आज साँझ टेलिफोन वार्ता भएको छ। श्रीलङ्कामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत सहयोग स्वरूप नेपाल सरकारले दुई लाख अमेरिकी डलर प्रदान गरेपछि श्रीलङ्का सरकारले नेपालप्रति आभार प्रकट गरेको हो।

    प्रधानमन्त्री कार्कीलाई फोन गर्दै श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले भनिन्, “हामीकहाँ विपद् परेको बेला सहयोग पठाइदिनुभएकोमा धन्यवाद छ, हामी अत्यन्तै आभारी छौँ।”

    जवाफमा प्रधानमन्त्री कार्कीले नेपाल–श्रीलंका मित्रताको सम्बन्ध झन् प्रगाढ रहेको बताउँदै भनिन्, “मित्रराष्ट्रबीच एक–अर्कालाई कठिन घडीमा साथ दिनु कर्तव्य हो। यो चुनौतीपूर्ण समयमा नेपाल तपाईंहरूसँग छ।”

    वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न वर्तमान राजनीतिक परिस्थितिबारे पनि जानकारी गराएकी थिइन्।

    दुवै देशका प्रधानमन्त्रीबीच आज साँझ ८:१५ बजेदेखि करिब चार मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • लुम्बिनीको उत्कृष्ट प्रदर्शन: विराटनगरमाथि ५ विकेटको जीत

    काठमाडौँ, लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा तेस्रो जीत दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्‍यो।

    १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। लुम्बिनीका ओपनर डार्सी सर्ट उत्कृष्ट फर्ममा रहेर सर्वाधिक ५७ रनको योगदान दिए।

    बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २–२ विकेट तथा बसिर अहमदले १ विकेट लिए।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको थियो। विराटनगरका लोकेश बमले ३५, बसिर अहमदले २८ र साम हिजलेटले २७ रन बनाए। लुम्बिनीका शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट झारे।

    यो जीतसँगै लुम्बिनीले ६ अंक जोड्दै प्लेअफ प्रतिस्पर्धामा आफूलाई बलियो बनाएको छ। उता, आठ अंक सहित विराटनगर पनि प्लेअफ दौडमै कायम छ।

  • कान्ती राजमार्ग विस्तारका कारण एकान्तकुना खण्ड दुई महिना बन्द

    ललितपुर — कान्ती राजमार्गअन्तर्गत एकान्तकुना क्षेत्रको सडक विस्तार तथा कटिङ कार्य तीव्र बनाउने उद्देश्यले सो क्षेत्र ६० दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार सूचना जारी गर्दै यही मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको जानकारी दिएको हो।

    प्रशासनका अनुसार सडक विस्तारका आवश्यक प्राविधिक कार्य प्रभावकारी र छिटो सम्पन्न गर्नुपर्ने भएकाले एकान्तकुना खण्ड अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

    सडक बन्द अवधिमा कान्ती राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनका चालक तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। प्रशासनले काम समयमा सम्पन्न गर्न सरोकार भएका सबै निकायसँग सहयोगको अपेक्षा पनि जनाएको छ।

  • महाधिवेशन तयारीमा एमाले सक्रिय, प्रतिनिधि चयन अन्तिम चरणमा

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनमा आज देश–विदेशमा व्यस्त छन्। करिब ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्य रहेको एमालेले यस महाधिवेशनका लागि झण्डै २,२०० प्रतिनिधि चयन गर्ने तयारी स्वरूप जिल्ला–जिल्लाका कमिटीदेखि प्रवाससम्म चहलपहल बढेको छ।

    यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि अनिवार्य गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै प्रदेश कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, विशेष जिल्ला संरचना, दलित तथा ट्रेड युनियन क्षेत्रबाट समेत प्रतिनिधि चयनको प्रक्रिया समानान्तर रूपमा अघि बढिरहेको छ। प्रतिनिधि छनोटमा सहभागी हुन कार्यकर्ता बिहानैदेखि सभा, बैठक र कागजी प्रक्रियामा जुटिरहेका छन्।

    पार्टी विधानअनुसार महाधिवेशनमा ४६४ स्वतः प्रतिनिधि सहभागी हुने व्यवस्था छ। जसमा आयोजक केन्द्रीय कमिटीका ३५४ सदस्यसहित अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा सल्लाहकार परिषद्को समावेशी संरचनाबाट प्रतिनिधि रहनेछन्। बाँकी प्रतिनिधि भने निर्वाचन क्षेत्र तथा संगठनका विभिन्न तहमा रहेका सदस्यबाट चयन भइरहेका छन्।

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १,२०० सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला प्रतिनिधि चयन गर्ने प्रावधानलाई कार्यान्वयन गरिरहेको छ। यही मापदण्डअनुसार अहिले अधिकांश जिल्लामा प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको र केही स्थानमा मतदान तथा सर्वसम्मतिको प्रक्रियाहरू जारी रहेको उनले बताए।

  • लुम्बिनीको पुनरागमन: पोखरालाई हराउँदै प्लेअफ आशा कायम

    काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई जीवन्त राखेको छ।

    लगातार हारपछि दबाबमा रहेको लुम्बिनीले आफ्नो पाँचौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो। पाँच खेलबाट ४ अंक बटुलेसँगै लुम्बिनी तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।
    हार बेहोरे पनि पोखराको प्लेअफ सम्भावना भने सकिएको छैन। चार खेलमा एक जीतसहित पोखराको झोलामा दुई अंक छन्।

    पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।
    लुम्बिनीकै कप्तान रोहित पौडेलले ४० रनको महत्वपूर्ण पारी खेले, निरोशन दिकवेल्ला ३७ रनका साथ चम्किए भने सन्दीप जोराले २५ रन जोडे।

    पोखराका विपिन खत्री, मार्क टेलर र सागर ढकालले दुई–दुई विकेट लिए, जिमी निशमले एक विकेट थपे।

    यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा पाँच विकेटको क्षतिमा १५० रन बनाएको थियो। सुरुआत खराब भए पनि जिमी निशम र एडम रोसिङटनले पाँचौँ विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

    रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकासहित ८१ रनको धुआँधार पारी खेल्दा निशमले ५१ रन जोडे।

    लुम्बिनीतर्फ शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे।

    आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

    ?????????????? ???????? ????????????? ??????????????? ??????? ??????? ?????? ????? ???????? ??? (??????) ??????? ????????????? ?????? ????????? ????? ????????? ? ???????? ????????? ???? ????? ????? ????? ???????? ?????? ? ??????? ??????? ?????÷????
  • विराटनगरको रोमाञ्चक जित: बसिर अहमदको धमाकेदार प्रदर्शनमा कर्णाली पराजित

    काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। एक समय असम्भव जस्तै देखिएको लक्ष्य बसिर अहमदको उत्कृष्ट ब्याटिङले सम्भव बन्यो।

    कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउँदै विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

    सुरुवात नै कमजोर बनेको विराटनगरका लागि ओपनर लोकेश बम ६ रनमा आउट भए भने जर्ज मुन्से खाता नै नखोली पभेलियन फर्किए। त्यसपछि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन बनाए।
    तर, त्यसपछि क्रिजमा आएका बसिर अहमदले ४३ बलमा धमाकेदार ६२ रन प्रहार गर्दै खेलको दिशा मोडे। उनले तीन चौका र तीन छक्का प्रहार गरे।
    नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण सहायक पारी खेले।

    अन्तिम ओभरमा जीतका लागि १० रन चाहिएको अवस्थामा बसिरले पाँचौ बलमा प्रहार गरेको छक्काले विराटनगरलाई जीत दिलायो। पहिलो १४ ओभरसम्म सुस्त रहें पनि विराटनगरले अन्तिम पाँच ओभरमा मात्र दुई विकेट गुमाएर ७१ रन बटुलेको थियो।

    कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई–दुई विकेट लिए। पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट हात पारे।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनाएको थियो।
    प्रियान्क पञ्चालले सर्वाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८ रन जोडे। यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे।
    विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले एक–एक विकेट हात पारे।

    एनपिएलमा बसिर अहमद १३औँ अर्धशतककर्ता बने

    विराटनगर किङ्ग्सका बसिर अहमद आजको उत्कृष्ट पारीसँगै यस सिजनमा अर्धशतक प्रहार गर्ने १३औँ खेलाडी बनेका छन्।
    उनले कर्णालीविरुद्ध ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे।
    जारी सिजनमा हालसम्म १७ अर्धशतक बनेका छन्।

    तीमध्ये

    चितवन राइनोजका रवि बोपारा — ३

    पोखरा एभेन्जर्सका कुशल भुर्तेल — २

    कर्णाली याक्सका प्रियान्क पञ्चाल — २

    यस्तै, एक–एक अर्धशतक बनाउनेमध्ये विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, लोकेश बम, मार्टिन गुप्टिल, सुमित बर्मा, जोन सिम्प्सन, वायन पार्नेल र आशिफ शेख रहेका छन्।
    कर्णालीका मार्क वाट जारी लिगमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्।

  • ज्येष्ठ नागरिकदेखि हिंसापीडितसम्म: काठमाडौँ महानगरले सुरु गर्यो निःशुल्क स्वास्थ्य सेवा

    काठमाडौँ ,काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, वेवारिसे तथा हिंसापीडित व्यक्ति, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेकालाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ।

    आज उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    सम्झौता पछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले पारिवारिक समस्याका कारण उपचारमा जान नपाएका नागरिकले “महानगरपालिका पनि मेरो साथमा छ” भन्ने विश्वास गर्न थालेको उल्लेख गरेकी छन्।
    प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सेवा आवश्यक पर्ने व्यक्तिले सजिलै उपचार पाओस् र दुरुपयोग रोकियोस् भनेर अस्पताललाई प्रभावकारी प्रणाली बनाउन आग्रह गरेका छन्।

    अस्पतालका अध्यक्ष डा. श्रेष्ठले स्वास्थ्योपचारलाई बेवास्ता गर्दै आएका पाका नागरिक उपचारमा आउने, समुदायले उपचारसम्बन्धी जानकारी खोज्ने जस्ता सकारात्मक परिवर्तन महानगरको सहकार्यकै प्रभाव भएको बताएका छन्।

    सम्झौताअनुसार काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई पनि उपचार सेवा उपलब्ध हुनेछ। महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा प्रदान गरिनेछ।
    लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ। यसरी हुने उपचार खर्च महानगरपालिकाले व्यहोर्नेछ।

    महानगरपालिकाले उपचार सहकार्यका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। अस्पतालले ३० प्रतिशत थप योगदान दिँदै कुल १ करोड ८० लाख रुपैयाँ बराबरको सेवा प्रदान गर्नेछ।
    सम्झौता चालु आर्थिक वर्षका लागि लागू हुने छ।

    सेवा लिन कर्मचारी र जनप्रतिनिधिले परिचयपत्र, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता कार्ड, साथै राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

  • ९ किलो सुन काण्ड : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा हुने भएका छन्।
    उच्च अदालत पाटनले मंगलवार महरालाई २० लाख रुपैयाँ धरौटी बुझाउने शर्तमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै धरौटीमा छुट्टिने आदेश दिएको हो।

    यसअघि काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो। भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोपमा महरालाई सीआईबीले पक्राउ गरेको थियो।

    ९ किलो सुन प्रकरणकाे पृष्ठभूमि

    २०७९ पुस १० गते Fly Dubai – FZ0587 मार्फत नेपाल आएका चिनियाँ नागरिक LI HANSONG ले दुईवटा सुटकेसमा ७३ बट्टामा ७३० थान भेप नेपाल भित्र्याएको थियो। अनुसन्धानको क्रममा ती भेपका बट्टाभित्र ९ किलो सुन लुकाएर तस्करी गरिएको खुलासा भएको थियो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्काको जिम्मामा राखिएको उक्त सुन पछि बेचबिखन भएको र आपराधिक समूहमार्फत आर्थिक लाभ लिएको निष्कर्ष सीआईबीको छ। यही प्रकरणमा महरा समेत तानिएका थिए।

  • आगामी निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिको अनुमोदन

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थालाई कडा बनाउन सेना परिचालन गर्ने निर्णय भएको छ।
    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

    उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निर्दलिय र सुरक्षित वातावरणमा सम्पन्न गर्न सेनाको सहकार्य आवश्यक भएकाले स्वीकृति प्रदान गरिएको हो। अब सेना निर्वाचन सुरक्षा योजनाअनुसार गृह मन्त्रालय र निर्वाचन आयोगसँग समन्वय गरेर जिम्मेवारीका क्षेत्र तय गर्नेछ।

  • धनगढीमा एमाले–जेनजी युवाबीच तनाव, बस्नेतविरुद्धको प्रदर्शनमा हातपात

    धनगढी, कैलालीको धनगढीमा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरूबीच भीडन्तजस्तो तनाव उत्पन्न भएको छ। एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेनजी कार्यकर्ता र स्वागतका लागि पुगेका एमाले समर्थकहरू आमनेसामने परेपछि केही घाइते समेत भएका छन्।

    धनगढी विमानस्थलमा स्वागत समारोहपछि बस्नेतलाई कार्यक्रमस्थलतर्फ लैजाने क्रममा जेनजी युवाहरूले जेनजी मार्गनजिक विरोध प्रदर्शन गरिरहेका थिए। ‘गुण्डुको गुण्डाः गो ब्याक’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित युवाहरू सडकमा उभिएका थिए।

    यही क्रममा मोटरसाइकल र्‍यालीसँगै आएका एमालेनिकट युवा कार्यकर्ताहरूले प्रदर्शन रोक्न खोज्दै जेनजी कार्यकर्तामाथि हातपात गरेको आरोप लगाइएको छ। घटनामा केही जेनजी युवा सामान्य घाइते भएका छन्।

    बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन्। पछिल्ला दिनमा उनी जहाँ–जहाँ पुगिरहेका छन्, त्यही–त्यही जेनजी युवाद्वारा विरोध प्रदर्शन भइरहेका छन्। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रदर्शन भएको थियो। यसअघि बाराको सिमरा र मोरङको विराटनगरमा पनि उनीविरुद्ध तीव्र नाराबाजी भएको थियो।

    मंसिर ३ मा सिमरा विमानस्थलमा भएको ठूलो प्रदर्शनका क्रममा जेनजी युवा र प्रहरीबीच झडप भएको थियो, जसपछि प्रशासनले कर्फ्यु लागेकाे थियो। मंसिर ७ मा विराटनगरमा पनि युवाहरूले बस्नेत सवार गाडीमा रातो रङ छ्यापेका थिए।

    भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बस्नेतले जेनजी कार्यकर्तालाई ‘आतंककारी’ सम्बोधन गर्ने, टिकटक–रिल बनाउनेलाई कारबाही गर्ने तथा सिंहदरबार जलाउनेहरू आतंककारी भएकोजस्ता अभिव्यक्तिहरू दिएका थिए। यिनै अभिव्यक्तिले जेनजी समूह र एमालेबीचको तनाव थप चर्किएको छ।

    यता, बस्नेतका कडा अभिव्यक्तिले भने उनको पार्टीभित्र समर्थन झनै मजबुत भईरहेको एमाले स्रोतहरू बताउँछन्।