सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पाँचथर हत्याकाण्डमा अनेक अड्कल

फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त बुधबार साँझसम्म पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बनेको हो। प्रहरीले मानबहादुरमाथि नै हत्या आरोप लगाएको छ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुरले नै हत्या गरेको प्रमाण फेला परेको छ,’ पाँचथरका डिएसपी नरेन्द्र कुँवरले भने, ‘अनुसन्धान जारी छ। अनुसन्धानका क्रममा अरू तथ्य आए भिन्नै कुरा हो।’

हत्या भएको स्थलभन्दा करिब दुई घन्टा पैदल हिँड्दा पुगिने ठाउँ मिक्लाजुङ–८ लुङमाङदिनमा कान्छा ज्वाइँ माखिमको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। हत्या गरेर माखिमले आत्महत्या गरेको प्रहरीको दाबी छ। माखिमको शव भेटिएको ठाउँ नजिकै रगत लतपतिएको खुकुरी फेला परेको छ।

सोमबार राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो।

बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। तर, एक युवकले दुई घरमा बसेका नौ जनाको हत्या गर्न नसक्ने मृतकका आफन्त, स्थानीय र बुद्धिजीवी बताउँछन्।

प्रहरीको कमजोरी : स्थानीय

प्रहरी कमजोरीका कारण गाउँमा कारुणिक नरसंहार भएको स्थानीयको आरोप छ। एक साताअघि सोही स्थानमा थुक्पा खाएका आठ जना बिरामी परेका थिए। खाजा खाएर बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो। जस्मिता फियाकले ढाका बुनाइ तालिममा सहभागीलाई थुक्पा बनाएर खुवाएकी थिइन्।

नुनमा सिसा मिसाउने आफ्नै साढुभाइ मानबहादुर माखिम हुनसक्ने भन्दै मृतक धनराज शेर्माले प्रहरीलाई पटकपटक खबर गरेको वडा सदस्य जयप्रसाद फियाकले बताए। ‘प्रहरी चौकी रबिका निरीक्षक तेजनारायण यादवलाई धनराजले फोन र म्यासेज गरेर सिसा मिसाउने माखिम नै हो, अनुसन्धान गर्नुप¥यो भनेर जानकारी गराएका थिए,’ फियाकले भने, ‘नामै उल्लेख गरेर खबर गर्दा पनि प्रहरीले चासो नदिएकाले हत्याकाण्ड भएको हो।’

प्रहरी निरीक्षक चौधरीले नुनमा सिसाको टुक्रा मिसाउने मान्छेको खबर आफूले प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरेको बताए। ‘मेरो मोबाइलमा आएको म्यासेजचाहिँ देखिनँ,’ यादवले भने, ‘धनराजले फोन गरेर सिसा मिसाउने मान्छेको नाम मलाई भनेपछि मैले जिल्लामा खबर गरेको थिएँ।’

प्रहरीले जानकारी पाएर पनि त्यो घटनालाई गम्भीर रूपमा नलिएकाले माखिमले परिवारकै सत्यनाश गरेर आत्महत्या गरेको हुनसक्ने अधिकांशको अनुमान छ।

‘मानबहादुरको ग्याङ ठूलो’

छुट्टाछुट्टै दुई घरमा बसेका नौ जनाको हत्या मानबहादुर एक्लैले मात्रै गर्नै नसक्ने मृतकका आफन्तको भनाइ छ। ‘ज्वाइँ मानबहादुरले नै हत्या गरेको हो,’ बमबहादुरकी माइँली छोरी बुद्धमाया भन्छिन्, ‘तर, ज्वाइँसहित हत्यामा अरू पनि संलग्न हुनुपर्छ। ज्वाइँको ग्याङ ठूलो थियो।’

आफन्तले थप अनुसन्धानका लागि आग्रह गरेका छन्। यी दुई घरको पैदल दुरी १५ मिनेटको छ।

धनराजको घरभित्र पाँच जनाको शव एकै स्थानमा थियो। बमबहादुरको घरमा तीन जनाको शव घरभित्र र बमबहादुरको शव घरबाहिर सिकुवामा भेटिएको थियो। स्थानीयका अनुसार बमबहादुर घरबाहिरै सुत्थे।

यस कारण भयो हत्या

कान्छा ज्वाइँ माखिमले नै बमबहादुरका परिवारको हत्या गरेको मृतकका आफन्त स्वीकार्छन्। माखिमसँग आर्थिक व्यवहारका कारण ससुरा बमबहादुरको परिवारसँग सम्बन्ध बिग्रिएको बुद्धमाया बताउँछिन्।

‘कान्छा ज्वाइँ विदेश जानलाई बुवाले नै ऋण गरेर ६५ हजार रुपैयाँ दिनुभएको थियो,’ बुद्धमाया भन्छिन्, ‘त्यही पैसाका कारण ज्वाइँसँग खटपट भएको थियो।’ मानबहादुर विदेशबाट आएपछि पत्नी मनकुमारीसँग समेत सम्बन्धमा तिक्तता आएको थियो।

उनीहरुको सम्बन्धविच्छेदको तयारीमा रहेको स्थानीयले बताए। ‘सम्बन्धमा खटपट आएपछि ज्वाइँले पहिलेदेखि नै धम्काउँदै आएका थिए’, बुद्धमायाले भनिन्, ‘त्यही रिसले गर्दा ज्वाइँले सबैको हत्या गरेका हुन्।’

दुई परिवारको वंशनाश

आरुबोटेमा भएको हत्याकाण्डबाट दुई परिवारको वंशनाश भएको छ। बमबहादुरका माहिला ज्वाइँ र कान्छा ज्वाइँका परिवारको वंश सकिएको हो।

माहिला ज्वाइँ धनराज शेर्मासहित उनकी पत्नी जस्मिता र छोरीहरू युहाना र मुनाको हत्या भएपछि धनराजको वंश सकियो। मानबहादुर माखिम र मनकुमारीका सन्तान थिएनन्।

मनकुमारीको हत्या र मानबहादुरको झुन्डिएको अवस्थामा शव फेला परेपछि दुई परिवारको वंश टुंगिएको हो। बमहादुरका चार छोरी थिए। तीमध्ये माइली जस्मिता र कान्छी मनकुमारीको मंगलबार हत्या भएको हो।

सत्यतथ्य चाँडै आउँछ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा दुई परिवारको सामूहिक हत्या घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले ९ जनाको सामूहिक हत्याबारे जानकारी दिन सरकारसँग संसद्मा माग गरेको थियो। राष्ट्रियसभाको बुधबारको बैठकमा उनले घटना अनुसन्धानमा सहयोग गर्न स्थानीयसँग आग्रह गरे।

उनले मारिएका ९ र रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका अर्का एक जनाको शव पोस्टमार्टम भइरहेको बताए। घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताए।

अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थल पुगेको र बाँच्न सफल १३ वर्षीया सिता खुजुमको दमकस्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। सोमबार राति बमबहादुर फियाक र ज्वाईं धनराज शेर्मासहित दुवै परिवारका ९ जनाको विभत्स हत्या भएको थियो।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !