सूचना नेपाल
२८ मङ्सिर २०८१, शुक्रवार

पुष्पलाल नै समस्याका जड हुन्

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको सत्तरी वर्ष भएको छ । पुष्पलाल समेतका चार (पाँच ?) जनाले स्थापना गरेको यो पार्टी प्रचण्ड बहुमतका साथ अहिले सत्तामा छ । फुट र विभाजनको मार्गबाट गुज्रँदै यहाँसम्म आइपुगेको यो पार्टी आज पनि आधादर्जन बढी समूहमा विभाजित छ । विभाजनको यो रोग स्थापनाकालदेखि नै थियो । राणशासनको अन्तिम अवस्थातिर भारतीय भूमिमा गठन भएको कम्युनिस्ट  पार्टीप्रति नेपालमा आज पनि गजबको आकर्षण छ । आकर्षक नारा, चर्का भाषण र विपक्षीको दोहोलो काढ्ने कला भएका नेता कार्यकर्ताका कारण नेपाली राजनीतिमा आज पनि कम्युनिस्ट ट्रेडमार्कको माल राम्रोसँग बिक्री भइरहेको छ ।

विश्व व्यापीकरण, खुलाबजार अर्थनीति र प्रतिस्पर्धात्मक प्रजातान्त्रिक पद्धति, जीवनशैली बनिसकेको समयमा झण्डै–झण्डै रुढीवादकै हदसम्म कठोर, कठमुल्लावादी र एकदलीय तानाशाही प्रणालीमा विश्वास राख्ने कम्युनिस्टको नाम भजाएर राजनीतिक दुनो सोझ्याउन सम्भव भइरहेको छ । तर सही अर्थमा कम्युनिस्ट दर्शनमा आधारित आदर्श र सिद्धान्तबाट अनुप्राणित शक्तिको भने अभाव छ । सरकारमा पनि कम्युनिस्ट नामधारी पार्टी नै हुनु र सडकको प्रतिपक्ष पनि कम्युनिस्ट नै हुनुलाई बिडम्बनाका रूपमा स्वीकार गर्नुपर्ने वास्तविकता बनेको छ ।

शक्ति प्रयोगको उपायबाट राज्यसत्ता कब्जा गर्ने कम्युनिस्ट सिद्धान्तलाई अपनाएर अघि बढिरहेको सत्तारुढ दलकै नामको एउटा प्रभावशाली समूह अहिले सरकारका लागि चुनौती बन्न पुगेको छ । राजनीतिक उपायबाट त्यो चुनौतीलाई सामना गर्न नसकेपछि सरकार अहिले फौजी शक्ति उपयोग गर्न अग्रसर भएको छ । सरकारमा जाने र प्रतिपक्षमा बस्ने, सत्ता सञ्चालनको बागडोर सम्हाल्ने र त्यसलाई ध्वस्त पार्ने अभियान चलाउने शक्तिको जरो भने एउटै हो । वि.सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीकै सन्तानका रूपमा आज सरकार चलाउने, सरकारकै अनुचित कदमको विरोध गर्ने र हतियारकै बलमा त्यसलाई उडाउन चाहने शक्तिले आफ्नो अस्तित्व थामिरहेका छन् ।

आज नेपाल कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट सिद्धान्त, नीति कार्यक्रमको सम्बन्धमा जुन अन्तरविरोध छ, जुन वादविवाद र मतभेद छ, यो रातारात पैदा भएको होइन । यसको उद्गमविन्दु पार्टी स्थापनाकाल नै हो । यद्यपि आज विश्वकम्युनिस्ट आन्दोलन विघटन भइसकेको छ । क्रान्तिकारिता प्रभावशून्य भएको छ । तेस्रो विश्वका एकाध मुलुकमा छिटफुट गतिविधि देखिएका छन् । त्यहाँ शुद्धता र भड्कावको सम्बन्धमा सामान्य मतभेद पनि देखिन्छ । तर विकसित र औद्योगिक उन्नति भएका मुलुकमा अब कम्युनिस्ट पार्टीको अस्तित्व समाप्त भइसकेको छ । कतिपयले त्यसलाई औचित्य समाप्त भइसकेको अर्थमा पनि लिएका छन् । अहिले दुनियाँको हतियार, सेना, विद्रोहको ठेक्का आतङ्ककारीको हातमा पुगेको छ । कुनै समय मुक्ति आन्दोलनको पर्याय बनेका कम्युनिस्टहरू कम्युनिस्टकै रूपमा आफ्नो अस्तित्व बचाउन असमर्थ भएका छन् ।कम्युनिस्ट फिलोसफी पढेका, बुझेका र सम्पर्क अलि व्यापक रहेकाहरूलाई पुष्पलालले पार्टी स्थापना भेलामा खबर नै नगर्नुको रहस्य आजसम्म खोतल्ने काम भएको छैन । त्यसो गर्दा सत्यतथ्य बाहिर आउँछ, पुष्पलालको आलोचना हुन्छ र उनको मर्यादामा आँच आउँछ भन्ने भ्रम छ । त्यो ठम्याइ कम्युनिस्ट सिद्धान्त विपरीत छ । त्यसले आन्दोलनलाई धराशायी बनाउन भूमिका खेलेको छ । कम्युनिस्टहरू बढी कर्मकाण्डी हुन्छन् । उनीहरू कर्मकाण्डमा विश्वास राख्छन्, व्यवहारमा होइन ।

नेपालमा कम्युनिस्टको नाम भजाएर साम, दाम, दण्ड भेदको नीति अपनाएर सत्तामा पुग्ने गरेको पनि झण्डै साँढे दुई दशक बित्न लागेको छ । यसबीचमा अनियमितता, भ्रष्टाचार, बेथिति, विकृति बढाउनमा सत्ताको दुरूपयोग गरेर व्यक्तिगत र पारिवारिक लाभ हासिल गर्नमा नै उसले आफ्नो सारा शक्ति खर्च गर्यो । त्यस प्रवृत्तिको त्यहीँभित्रबाट र बाहिरबाट पनि बारम्बार चर्को विरोध भइरह्यो । तर त्यसप्रति सत्ताधारी कम्युनिस्टहरूले खासै चासो देखाएनन् । अहिले त सत्तामा रहेका तथाकथित कम्युनिस्ट नेताहरू आलोचना, विरोध र असहमतिलाई आफूले ‘गरिखाएकोमा डाहा गरेको’ अर्थमा लिन थालेका छन् । आलोचनाप्रति कठोर बन्दै गएका छन् । यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने चिन्ता न तिनलाई सिंहासनको यात्रामा साथ दिनेहरूमा देखिन्छ, न सिंहासन जोगाउनु पर्नेहरूमा नै । सिंहासनमोहले अन्धो बनेका शासकका कारण कम्युनिस्ट आन्दोलन बद्नाम भयो भन्ने चिन्ता राख्ने एउटा शक्ति आज पनि जीवित छ । उसको चिन्ता बारम्बार व्यक्त पनि भएको छ । तर त्यो खोलाको गीतझैँ प्रभावहीन देखिएको छ ।

सिद्धान्त, नीति, विधि र प्रक्रियाको विवादमा उल्झन चाहनेलाई चिल्ला गाडी, आलिशान महल र राजशी सुविधाले हास्यास्पद बनाइदिएको छ । अब सिद्धान्तको बहस चलाएर तिनमा देखिएको भड्काव हटाएर तिनलाई सही बाटोमा फर्काएर ल्याउने कोशिसलाई मूर्खता शिवाय अरू केही भन्न सकिँदैन । तिनीहरू कम्युनिस्ट दृष्टिकोणबाट हेर्दा पूर्ण रूपले पतन भइसकेका छन् । पतन भइसकेको शक्तिलाई पुनः जीवन दिन सक्ने सामथ्र्य यो दुनियाँमा कसैसँग पनि हुँदैन । यति गर्न सकिन्छ, आन्दोलनलाई जोगाउन, अघि बढाउन र सफल गराउन यस्ता भडकाउको सुरुवात कसरी भयो ? कुन भूलले यो मौलायो ? र सारा आन्दोलनलाई नष्ट पारिदियो भन्ने समीक्षा गर्न सकिन्छ । समीक्षा निर्मम, तथ्यपरक र पूर्वाग्रहरहित ढङ्गले गरिनुपर्छ । कसैको मानमर्दन गर्ने, अवमूल्यन गर्ने, कसैलाई अति मूल्याङ्कन गर्ने र अनावश्यक रूपले उठाउने दृष्टिले हुनु हुँदैन । यथार्थमा आधारित तथ्यपरक मूल्याङ्कनले भविष्यमा मार्ग स्पष्ट हुनसक्छ ।

त्यो गर्नका लागि हामी फर्केर यसको स्थापनाकाल अर्थात २००६ सालमै पुग्नु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना निर्विवाद छैन । यो पार्टीको स्थापना नेपालमा साम्यवादी आन्दोलन उठाउने, नेपाली जनतालाई दासताको चङ्गुलबाट मुक्त गराउने र स्वतन्त्र गराउने उद्देश्यले भएको होइन । यसको स्थापना असफल र निराशहरूको सानो समूहले आफ्नो निहित स्वार्थपूर्तिका लागि गरेको देखिन्छ । नेपाली काँग्रेसका केन्द्रीय कार्यालय सचिव पुष्पलालको नेतृत्वमा खुलेको नेपाल कम्युनिस्ट पार्टीको सैद्धान्तिक जग नै कमजोर देखिन्छ । काँग्रेस पार्टी सभापति पदका दुई लालची विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमरण रेग्मीबीचको पदको झगडा मिलाउन नसकेपछि दिक्क भएर पुष्पलालले कम्युनिस्ट पार्टी गठन गरेका हुन् । हुन त उनले कम्युनिस्ट पार्टी गठन गर्नुअघि नै कम्युनिस्ट मेनिफेस्टो नेपालीमा अनुवाद गरिसकेका थिए । उनलाई साम्यवादी दर्शनको सामान्य ज्ञान अवश्य नै भइसकेको हुनुपर्छ । कम्युनिस्ट पार्टीको स्थापनामा पनि नेपाली काँग्रेस झैँ षडयन्त्र, पदलोलुपता, व्यक्तिगत स्वार्थ र चरम महत्त्वकाङ्क्षाको रोगबाट मुक्त नरहेको स्पष्ट देख्न सकिन्छ ।

पुष्पलाललाई आफू नेता बन्ने रोगले गाँजेको देखिन्छ । नेता बन्ने सम्भवनालाई सफल पार्न उनले स्थापना भेलामा आफूले भनेको मान्ने, आफूले विश्वास र भरोसा राख्न सक्ने तीनजना अरू व्यक्ति ती पनि काठमाडौँ उपत्यकाका नेवारलाई मात्र भेला गराए । भेलापछि उनले प्रकाशित गराएको पर्चामा पनि कम्युनिस्ट दृष्टिकोणको छनक भेटिँदैन । उनले नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्यलाई लिएर पार्टी स्थापना गर्दा भारतीय कम्युनिस्ट नेता अयोध्याप्रसाद सिंहको उपस्थिति छ तर माक्र्सवादी अध्ययन केन्द्र खोलेर बसेका र कलकत्तामै अध्ययन गरिरहेका केशरजङ्ग रायमाझीलाई बोलाइएको छैन । माइलाबाजे भनिने रत्नलाल ब्राह्मणको प्रभावबाट कम्युनिस्ट बनिसकेका मनमोहन अधिकारीलाई पनि निमन्त्रणा छैन । डीपी अधिकारी, शैलेन्द्रकुमार, महेशकुमारहरूलाई खबर छैन ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !