सूचना नेपाल
४ बैशाख २०८१, मङ्गलवार

कसले पो देख्छ र मनको पहिरो !

१०-१२ वर्षे एक मायालु र निर्दोष फुच्चे मञ्चको अग्रभागमा उभिन्छन् । बाँसुरीको सुरिलो धूनसँगै पृष्ठभूमिमा वाद्ययन्त्रको एकमुष्ठ ध्वनी गुञ्जन्छ । गुलाबी गन्जी एवं सेतो रंगको बक्स पाइन्ट लगाएका उनी सूर र तालसँगै आफ्नो मधुर आवाज मिसाउँछन्, ‘मलाई छाडी मेरो छायाँ कतै झरेछ, तिमी सामु आइपुग्दा साँझै परेछ ।’

यही गीतका अन्तरामा भनिए जस्तै उनका कति चिसा रातहरु त्यसै-त्यसै बिते होलान् । कति भोक पचाए होलान्, कति जाडो सहे होलान् । ती सडक साक्षी छन्, बेपर्वाह गाउँदै हिँड्ने एउटा टिठलाग्दो ‘फुच्चे’का खातिर हिजोका दिनहरु कति कठोर थिए ?

उनी गाउँदै हिँड्थे, चोक-गल्लीमा । गाडीमा । सडकमा । उनको आवाजको मिठासले हो वा निर्दोष अनुहारले, रमितेहरु पग्लिन्थे । दुई/चार रुपैयाँ हातमा थमाइदिन्थे ।

एकदिन,

सडक किनारको भीडमा मधुर आवाज गुञ्जिरहेको थियो । त्यो आवाजको जादुले गोपाल कर्माचार्यलाई टक्क रोक्यो । उनी पछाडि फर्किए । अबोध बालक भाका हालिरहेको थियो । उनले कलिला हात समाते र डोहोर्‍याउँदै मञ्चमा उकाले । १२ वर्षे ती बालक मञ्चमा उभिएर गाउन थाले, ‘…तिमीसम्म आइपुग्दा साँझै परेछ ।’

यो जिन्दगीले कहाँ पुर्‍यायो ?

सडक र संघर्षको आलोकमा टेकेर एउटा गायकको उदय हुन्छ, रामकृष्ण ढकाल । ‘मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो’, ‘थोरै थोरै रिस अनि धेरै धेरै माया’, ‘माया गर्नेको चोखो माया पनि देखियो’ जस्ता प्रेम-विरह अनि जीवन-संगीतका धुन सर्वप्रिय बन्छ ।

५० को दशक । एफएमको लहर सुरु नभइसकेको अवस्था । रेडियो नेपालमा पालो पर्खेर बज्ने गीतको व्यग्र प्रतिक्षा हुने ।

तर, रेडियोको गीतले धीत मरे पो ? संगीत-अनुरागीहरु घरमै क्यासेट प्लेयर घन्काउँछन् । अडियो क्यासेटको बजार गुल्जार हुन्छ । ‘ए’ र ‘बी’ साइडमा तीन/चारका दरले संग्रहित गीत दोहोर्‍याइ-तेहेर्‍याइ सुन्छन् । सुनेको सुनेकै गर्छन् । रामकृष्ण ढकालका गहकिलो एवं मधुर भाका सुनिरहँदा स्रोताको मस्तिष्कमा उनका निर्दाेष बालापन सजीव भएर आउँछ, दन्त्य कथा जस्तै । संघर्ष र साधना गर्नेका निम्ति उनको जीवन आफैमा ‘पाठ’ बन्छ । ‘प्रेरणा’ बन्छ ।

गाउँपाखा, मेलापातदेखि शहरका गल्ली र क्याफेहरुमा एकछत्र गुञ्जन्छन्, रामकृष्ण ढकाल । बजारमा हाताहात र रातारात बिक्री हुन्छन्, उनका गीति एल्बम । देश र विदेशका स्टेजहरुमा शोभायमान बन्छ, उनको उपस्थिति । पत्रपत्रिका रंगिन्छन्, उनका संघर्ष र सफलताका कथाले ।

फुटपाथबाट उठेर उनले आफ्ना सानो एवं लोभलाग्दो संसारको रचना गर्छन् । उनी कलिली छोरी ‘रानी’को आँखाबाट संसारको खुसी चिहाउने यत्नमा लाग्छन् । यश, ऐश्वर्य, परिवार । लाग्छ, रामकृष्ण ढकाललाई सबै सुख प्राप्त छ ।

तर, समयले कोल्टे फेर्छ ।

करियरको त्यो स्वर्णिम पूर्वार्द्धमा जस्तो गाउँछन्, सायद त्यो उनको जीवनको नियती बन्न पुग्छ । ‘पानी घट्ट घुमे झैं फनन, घुम्दो रैछ मान्छेको जीवन’ यो बिन्दुमा गीत र जीवन एकाकार भइदिए जस्तो लाग्छ ।

आज उनको जीवन-संगीतको धुन कहाँ छुट्यो ?

ओराली लागेको हरिणको चाल भो

जीवनको मादक चमक सधैं एकनास रहँदैन । जीवनको तीव्रता र सन्तुलन पनि सधैं कायम रहँदैन । संगीत दुनियाँको परिदृश्य फेरियो ।

क्यासेटको बिक्री ठप्प भयो । कन्सर्ट पातलिए । संगीतको स्वाद र रुचि फेरिए । संगीत बजारमा नयाँ-नयाँ अनुहार प्रवेश गरे । व्यवसायिक जीवनमा रामकृष्ण ढकालका चुनौती पहाड बन्यो ।

ओशो भन्छन्, ‘सुख अस्थायी हुन् । दुःख पनि ।’ रामकृष्ण ढकालका लागि मात्र होइन, तपाईं-हामी सबैका लागि प्रकृतिको यो सर्त लागु हुन्छ ।

बाहिरबाट हेर्दा देखिन्थ्यो, रामकृष्ण ढकाल सुकिला-मुकिला छन् । उनलाई परिवार-सुख मिलेको छ । यश र वैभवले परिपूर्ण छन् । घर छ, गाडी छ । चम्किलो जीवन छ । तर, मान्छे आवरणमा जस्तो बाँच्छन्, उनीभित्र आकांक्षा, सपना, बाध्यता, अप्ठ्याराहरुको एकमुष्ठ भुमरी मडारिरहेको हुन्छ । कसरी यसको अपवाद हुनसक्छन् रामकृष्ण ढकाल ?

उनले गाएजस्तै न हो, ‘देख्दैन यहाँ कसैले व्यथा बढेको ।’

बोल्नै भएन

गैर-जनजाति हुनुको ‘साइड इफेक्ट’बारे रामकृष्ण ढकालको एउटा किस्सा छ, ‘रे’ फुर्को जोडिएको । उनी अक्सर राजेशपायल राईसँग गुनासो गर्थे रे, ‘राई भएर जन्मिनुपर्ने रहेछ । कम्तीमा देश-विदेशको कन्सर्टमा आफ्नो समुदायकाले निम्तो गर्थे ।’

किराँत राई सोसाइटीले ‘सुम्निमा साँझ’को लागि राजेश पायल राईलाई निम्तो गरिरहँदा मगर संघले खड्ग गर्बुजालाई बोलाउने । रामकृष्ण रित्तै ।

साम्प्रदायिक कुरालाई एकातिर थन्को लगाएर कुरा गर्ने हो भने, विदेशमा हुने अधिकांश कन्सर्टको मेलोमेसो जातीय संघ-संगठनले मिलाउने गर्छन् । यस्तै कन्सर्टमा धाइरहने एक भुक्तभोगी गायक भन्थे, ‘विदेशमा होडबाजी चल्ने रहेछ । एउटाले आफ्ना समुदायको कलाकर्मी बोलाएर कार्यक्रम गर्नासाथ अर्को समुदाय पनि तात्तिने ।’

विषय र प्रसंगले अर्को अर्थ नलागे यो कथा रामकृष्ण ढकालको जीवनमा मेल खानसक्छ ।

हुन त उनीसँग ‘जातिवादी’, ‘पक्षपाती’, ‘बाहुनवादी’को हिलो छ्यापिएको तीतो बिगत पनि छ । प्रसंग नेपाल आइडलको हो । निशान भट्टराई र बुद्ध लामाबीच शीर्ष उपाधिका लागि भीडन्त चलिरहेको थियो । प्रतियोगिता उत्कर्षमा पुग्दै गर्दा जातीय कित्ताकाट सुरु भयो ।

अतिथि निर्णायकको रुपमा निम्त्याइएका उनले त्यसबेलाको वस्तुस्थिति हेर्दै भनेका थिए, ‘हाम्रालाई भन्दा पनि प्रतिभाको मूल्यांकन गरेर भोट गरौं ।’ यो टिप्पणीले रामकृष्णको ‘निद हराम’ गरिदियो । उनले अनर्थ भनेका थिएनन् । न त नियतबस् । यद्यपि उनको सत्तोसराप हुन थाल्यो । त्यसबखत अनलाइनखबरसँग कुरा गर्दै रामकृष्णले सुनाएका थिए, ‘मेरो आत्माले जे भन्यो, त्यही बोलें । मलाई बडो डिप्लोम्याटिक भएर बोल्न आउँदैन । र, सबैलाई उत्तिकै राम्रो लाग्छ भनेर झुटो बोल्न पनि सक्तिनँ ।’

उनीविरुद्ध लाग्नेहरु कतिसम्म उग्र भए भने, रामकृष्णलाई फाँसी दिनुपर्छसम्म भने । त्यसखबत रामकृष्णको फोनमा लगातार घण्टी बजिरह्यो । हेर्नै नहुने गरी फेसबुक गालीले कुरुप भयो । ‘अहिले त फोनको घण्टी बज्दासमेत आतंकित हुन थालेको छु,’ रामकृष्णले सुनाएका थिए, ‘फेसबुक हेर्नै डर लाग्न थालेको छ ।’

देख्दैन यहाँ कसैले व्यथा बढेको

रामकृष्ण ढकालले डिभोर्स गरे जो, नियमित आकस्मिकता थियो ।

 तर, धेरैका निम्ति यो चटक बनिदियो । रामकृष्णले किन डिभोर्स गरे ? कसरी गरे ? चियोचर्चा र टिप्पणी छताछुल्ल भयो ।

रामकृष्ण ढकाल दुई फरक आयाममा बाँचेका छन् । एउटा निजी र अर्को सार्वजनिक । ‘सेलिब्रेटी’ हुनुको नाताले पनि उनीप्रति यतिबिघ्न चियोचर्चा हुनु स्वाभाविक हो । तर, निजी जीवनमा उनी फगत गायक होइनन् । छोरा हुन्, श्रीमान हुन्, पिता हुन् ।

यी अनेक भूमिकामा उनी जसरी समेटिएका छन्, त्यसैगरी तह-तहका संघर्षमा लपेटिएका पनि । आफ्नै इच्छा र आकांक्षासँग, शरीर र स्वास्थ्यसँग, परिवार र सम्बन्धसँग, करियर र समवयीसँग जीवनले कुस्ती खेलिरहेको हुन्छ । हुनसक्छ, उनी आफ्नै जीवनसँग हारिरहेका थिए । एकातिर पारिवारिक बेमेल, अर्कोतिर ऋणको बोझ । यावत् झमेला उनले यसरी झेलिरहेका थिए होलान्, जसबाट आफू भित्र-भित्रै गलेपनि बाहिर प्रकट नहोस् । कम्तीमा सानी छोरी रानीको खुसी नखोसियोस् । तर, उनको मन जलेको कसले देख्ने ?

उनी ऋणमा डुबेको र घरबार बिग्रिएको कुरालाई यसरी मजाक बनाइयो, मानौं उनी फगत मूर्ति हुन् । उनीभित्र संवेदना छैन । उनलाई दुख्दैन ।

अट्टहाससाथ यसरी हल्लीखल्ली मच्याइयो, ‘ऋणमा डुबेका रामकृष्णलाई श्रीमतीले छाडिन् ।’ ‘रामकृष्ण ऋणमा डुबे, श्रीमती पनि छाडे ।’

उनकै गीतको पंक्तिमा भनिए जस्तै न हो, ‘…एउटाको आँशु झर्दा अर्कोको छुट्छ हाँसो । कसले पो देख्छ र मनको पहिरो !’

साभार : अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !