सूचना नेपाल
१२ साउन २०८१, शनिवार

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौँ, ५ जेठ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनोरबीच मर्जरको तयारी अगाडि बढेको छ । दुवैै कम्पनीको लगानीमा एसियाली मुलुकमा सञ्चालित दूरसञ्चार तथा पूर्वाधार कम्पनीहरूलाई मर्जपछि एउटा छुट्टै कम्पनीअन्तर्गत रहने गरी सञ्चालन गर्ने सहमति भएको छ । मर्जपछि स्थापना हुने कम्पनीको नाम तत्कालका लागि ‘मर्ज्डको’ राखिएको छ । मलेसियाको एजियाटाले नेपालको एनसेलसहित मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया गरी छ देशमा दूरसञ्चार कम्पनी सञ्चालन गरिरहेको छ ।

त्यस्तै युरोपलाई प्रमुख बजार मानेर दूरसञ्चार सेवा उपलब्ध गराइरहेको टेलिनोरले एसियाका पाकिस्तान, बङ्गलादेश, मलेसिया, म्यानमार र थाइल्यान्डमा दूरसञ्चार, पूर्वाधार तथा मोबाइल बैङ्किङलगायत सेवा प्रदान गराउँदै आएको छ । मर्जरपछि नेपाल, मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, पाकिस्तान, म्यानमार र थाइल्यान्डमा हाल सञ्चालित भइरहेका कम्पनीहरू मर्ज्डको गु्रपअन्तर्गत रहने छन् । यद्यपि बङ्गलादेशमा एजियाटाअन्तर्गत सञ्चालन भइरहेको रोबी एजियाटा लिमिटेड भने मर्जमा समेटिएको छ । 

एजियटा र टेलिनोर दुवैले मर्जरको विषयमा विज्ञप्ति जारी यसलाई पुष्टि पनि गरिसकेका छन् । दुवै कम्पनीका अनुसार वैशाखको चौथो हप्ता यस विषयमा छलफल पनि भएको थियो । छलफलअनुसार मर्जरपछि बन्ने कम्पनीका टेलिनोरको ५६.५ प्रतिशत र एजियाटाको ४३.५ प्रतिशत सेयर स्वामित्व रहनेछ । यसको केन्द्रीय कार्यालय मलेसियामै रहनेछ । दुवै कम्पनीबीच सन् २०१९ को तेस्रो त्रैमासिकसम्म सम्झौतालाई अन्तिम रूप दिने विषयमा पनि सहमति भएको छ । उक्त अवधिभर दुवै कम्पनीअन्तर्गत सञ्चालित कम्पनीको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) पनि पूरा हुनेछ । त्यसपछि सेयर लगानीकर्ता, नियामकको अनुमतिलगायतका प्रक्रिया अगाडि बढाउने तयारी छ । 

दुई कम्पनीबीचको मर्जर विश्वकै ठूलो मर्जरमध्येको एक हुने एजियाटाका अध्यक्ष तान श्री जमालुद्दिन इब्राहिमले बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । ‘हामी एउटा इतिहास निर्माणको चरणमा छौँ । प्रस्तावित मर्जर विश्वमै उत्कृष्ट बन्नेछ जसको मुख्यालय मलेसियामा हुनेछ’ विज्ञप्तिमा उल्लेख छ । त्यस्तै टेलिनोर समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिग्भे बे्रकले मर्जर लगानीकर्तासहित उपभोक्ताका लागि पनि फलदायी हुने बताउनुभएको छ । ‘एसियाकै नेतृत्वदायी टेलिकम कम्पनी बनाएपछि हामी हाम्रो उत्कृष्ट क्षमताअनुसार सहकार्य गर्नेछौँ’ टेलिनोरको विज्ञप्तिमा उल्लेख छ ।

दुवै कम्पनीको मर्जरपछि एसियाली बजारमा मोबाइल ग्राहक सङ्ख्या ३० करोड नानेछ । त्यस्तै दुवै कम्पनीको गरेर कुल सम्पत्ति करिब १३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । एजियटाले २०७२ सालको वैशाखमा त्यसअघिको लगानीकर्ता टेलियासोनेराबाट एनसेल खरिद गरेको थियो । उक्त खरिद बिक्रीबापत नेपालले प्राप्त गर्नुपर्ने लाभकरका सन्दर्भमा पछिल्ला तीन वर्ष संसदीय समितिसहित आमतहमा व्यापक चर्चा र छलफल भइरहेको छ । सर्वोच्च अदालतले यही वैशाख २४ गते ठूला करदाता कार्यालयबाट एनसेलउपर निर्धारित कर उठाउने निर्णय तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको थियो । 

 गोरखापत्र दैनिकको समाचार अनुसार, त्यसअघि चैत २७ गते सर्वोच्च अदालतले एनसेलबाट तीन महिनाभित्र कर उठाउन कार्यालयलाई निर्देशन दिएको थियो । कार्यालयले एनसेललाई त्यसपछि सात दिनको समय दिएर करिब ३९ अर्ब रुपियाँ कर भुक्तान गर्न निर्देशन दिएको छ । एजियाटाले टेलियासोनेराबाट एक अर्ब ३० करोड डलरमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको थियो ।

  •  २०७६ जेठ ५ आइतबार ०७:५८:०० मा प्रकाशित
प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !