सूचना नेपाल
१२ साउन २०८१, शनिवार

देउवा र शेखरबीच वाक्युद्ध श्रृंखला

७० वर्षको कांग्रेस इतिहासमा कोइरालाले ४९ वर्ष नेतृत्व गरे । १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा कोइराला परिवारभन्दा बाहिरबाट सभापति चुनिए । देउवाले कोइराला परिवार पक्षकै सभापति उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरेको तीन वर्ष बितिसकेको छ । १४औं महाधिवेशन नआउँदै फेरि कांग्रेसमा सभापति देउवा र कोइराला परिवारबीच आरोप–प्रत्यारोप चलेको छ । त्यसमा पनि शेखर कोइराला र देउवाले एक–अर्कालाई लक्षित गरेर वाकयुद्ध नै चलाएका छन् । 

नियमित समयमा महाधिवेशन गर्ने अवस्था भए २०७७ फागुनभित्रै १४ औँ महाधिवेशन गरिसक्नुपर्नेछ । तर, विशेष कारण देखाउँदै एक वर्ष म्याद थप गर्न पाउने व्यवस्था विधानले सभापतिलाई दिएकाले उनको कार्यकाल झन्डै दुई वर्ष बाँकी छ । 

देउवाले आफूहरूको विरासत तोडेपछि कोइरालाले १४ औँ महाविधेशनमा एक भएर लड्ने उद्घोष मात्रै गरेका छैनन्, सँगै खाना खाएर, फोटो खिचाएर र एउटै मालामा बेरिएर उनीहरूले आफूहरू एक भएर देउवाविरुद्ध लड्ने संकेत दिएका छन् । 

गिरिजापुत्री सुजाता कोइरालाले आफू सभापतिमा दाबेदार नगर्ने प्रष्ट पारिसकेकी छिन् । बिपीपुत्र एवं महामन्त्री डा. शशांक कोइराला र शेखर कोइराला सभापतिका संभावित दाबेदार देखिन्छन् । तर, जिल्ला दौडाहा, भेटघाट र सक्रियताका हिसाबले शेखर सभापतिको दाबेदारका रूपमा अगाडि बढेका छन् । अर्कोतिर सभापति देउवा नै एकपटक दोहोरिने दाउमा देखिन्छन् । शशांकले मुख नखोले पनि शेखरले सभापतिको दाबेदारकै रूपमा सक्रियता देखाउँदै गर्दा सभापति देउवाको तारोमा उनी परेका देखिन्छन् । 

बिपी वा गिरिजाका सन्तान नभए पनि राजनीतिक समझ र सक्रियताका कारण कोइराला परिवारबाट शेखर नै सभापतिका सम्भावित दाबेदार भएको चर्चा कांग्रेसभित्रै छ । यस्तोमा देउवाले शशांकप्रति नरम र शेखरविरुद्ध खरो टिप्पणी गरेका छन् । विश्लेषक पुरञ्जन आचार्य पनि यी दुई नेताबीच १४औँ महाधिवेशन केन्द्रित आरोपप्रत्यारोप सुरु भएको टिप्पणी गर्छन् । शशांक र सुजाताले पनि अब कोइराला परिवारबाटै सभापतिमा दाबेदारी रहने टिप्पणी गर्ने गरेका छन् । उनीहरूप्रति देउवाले मुख खोलेका छैनन् । शेखरप्रति भने देउवा कठोर देखिएका छन् ।

आरोप–प्रत्यारोप

  • कोइरालाहरू : ४ फागुनमा वीरगन्जमा एउटै मालामा

वीरगन्जमा गत फागुन ४ मा जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा कोइराला परिवारका तीन हस्ती एक ठाउँमा उभिए । कार्यक्रममा शशांक, शेखर र सुजाताले एक सय २१ किलोको एउटै माला पहिरिएर एक भएको सन्देश दिए । कार्यक्रममा सुजाताले भनिन्, ‘भाषण गरेर पार्टी चल्दैन, काम गरेर नेता बन्न सकिन्छ । भन्नेले नमिलेको भन्छन् तर, हामी तीन कोइराला एक छौँ । अरूले टाउको नदुखाए हुन्छ ।’ 

  • देउवा :  ८ फागुनमा वीरगन्जमा 

‘कसैको कोइराला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज छ । थर मिल्यो भन्दैमा सभापति बन्न पाउनैपर्छ भन्न पाइन्छ ? हो, कांग्रेसमा बिपी र गिरिजाप्रसाद कोइरालाको योगदान छ । यसलाई हामीले स्विकार्दै आएका छौँ । तर, कांग्रेसमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान छैन । पार्टीमा योगदान नगर्ने अनि कार्यकर्तामा भ्रम छर्दै हिँड्ने ? कांग्रेसका लागि शेखरको योगदान के छ ? उनी कति दिन जेल बसे ? सडकमा मण्डलेले मेरो टाउको फुटाउँदा र म जेलमा बस्दा शेखर कहाँ थिए ? पार्टीमा योगदान नगर्ने तर, सभापति पाउनुपर्छ भनेर शेखर जथाभावी बोल्दै हिँडेका छन् । पार्टीलाई कमजोर बनाउन खोज्ने जोसुकैमाथि कारबाही हुनेछ ।’ 

  • शेखर : १३ फागुनमा विराटनगरमा 

‘सभापति देउवालाई थाहा हुनुपर्ने हो कांग्रेस कोइरालाहरूले मात्र बनाएको पार्टी होइन । यो पार्टी धेरै साथीको योगदानबाट बनेको हो । कांग्रेस धेरैको रगतले सिञ्चित भएर बनेको पार्टी हो । म को हुँ भन्ने मलाई राम्रो हेक्का छ । मेरो राजनीतिक संस्कार छाड्न म सक्तिनँ, बरु कोइराला परिवारको संस्कारलाई अझै राम्रो बनाउनुपर्छ । सभापतिले मेरो र मेरो परिवारबारे जे बोल्नुभएको छ, त्यो उहाँको राजनीतिक संस्कार होला । मैले कहिल्यै सभापतिको मानमर्दन गरेको छैन । तर, कांग्रेस कमजोर हुँदै जानु पार्टी नेतृत्व असफल भएको भन्ने मेरो टिप्पणी हो ।’ 

  • देउवा : २३ फागुनमा विराटनगरमा

२३ फागुनमा देउवा कोइरालाकै गढ विराटनगर पुगे । विराटनगरमा देउवाले शेखरलाई दुईपटक सम्झाएको पनि बताए । ‘मैले दुईपटकसम्म बोलाएर मेरो र पार्टीविरुद्धमा नबोल्नका लागि शेखरलाई भनेको छु । तर, उहाँले मान्नुभएन । मेराविरुद्ध अभियान नै चाल्ने काम भयो ।’ तर, शेखर आफूलाई सभापतिले अहिलेसम्म नबोलाएको बताउँछन् । 

  • देउवा : ३ जेठमा काठमाडौंमा 

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले नेताहरूबीच आपसमा बोलचाल नै नहुनु पराजित मानसिकताको उपज भएको बताएका थिए । ‘पार्टीमा नेताहरूबीच आन्तरिक प्रतिस्पर्धा हुन्छ तर यस्तो प्रतिस्पर्धा दुस्मनीमा बदलिने देखियो । नेताहरूबीच बोलचाल नै नहुने अवस्था आयो,’ देउवाले भनेका थिए, ‘निर्वाचनमा कांग्रेसले कांग्रेसलाई भोट नहाल्ने अन्तर्घात गर्ने अनि निर्वाचन जितिएन भनेर कहाँ हुन्छ ?’

  • शेखर : ४ जेठमा काठमाडौंमा

‘नेविसंघ नेतृत्वविना चलेको महिनौँ बित्यो, तरुण दललाई चारजनाले चलाउनु परेको छ । यसरी तदर्थवादमा भ्रातृ संगठन र पार्टी चलाउनु हुँदैन । हामी जागरण अभियानमा छौँ तर, जागरण कसलाई किन चाहिएको छ ? नेतृत्वलाई कि, हामीलाई कि तपाईंहरूलाई ? तपाईंहरू (कार्यकर्ता) त यसै जागरुक हुनुहुन्छ । बरु झगडा गरिरहने हामीलाई नै जागरण चाहिएको छ । विधानको संशोधित व्यवस्थाअनुसार पार्टीका संरचना नबन्दा कसका लागि जागरण चलाउने भन्ने प्रश्न उठेको छ । म गुटबन्दीमा विश्वास गर्दिन । यसैले सभापति भइरहेको व्यक्तिले गुट किन चलाउने भन्ने प्रश्न गरेको हुँ । गुट चलाउनेले पार्टीमा बोलचाल गर्ने वातावरण छैन भन्न मिल्दैन । पार्टीमा बोलचाल गर्ने वातावरण छैन भने सभापतिले बनाउनुपर्छ ।’

सभापतिको कार्यकाल लम्बाउने नियत छ : डा. शेखर कोइराला

तपाईंमाथि सभापतिले निक्कै खरो टिप्पणी गर्नुभयो नि ?

सभापतिले किन यस्तो बोलिरहनुभएको छ । यसमा मलाई केही भन्नु छैन । बिपी, मेरो बुबा, आमा, गिरिजाबाबु र मेरो समग्र परिवारजनले मलाई जस्तो संस्कार दिनुभएको छ म त्यही संस्कार बोकेर हिँडेको छु । मलाई कसले के बोल्यो भनेर टिप्पणी गर्नु छैन । तर, विधि, विधानलाई टेकेर पार्टी अगाडि बढ्नुपर्छ भन्नेमा मेरो निरन्तर खबरदारी छ । 

सभापतिमाथि तपाईंं पनि व्यक्तिगत टिप्पणी गरिरहनुभएको छ ? 

हामी जागरण अभियानमा छौँ तर, हाम्रा पार्टीका संरचना संघीयतामा गएका छैनन् । पार्टीका संघीय संरचना बनेको भए जागरण अभियानले फाइदा हुने थियो । तर, चारवर्षे कार्यकाल सकिन लाग्दा १४ औँ महाधिवेशन छल्ने नियतले जागरण अभियान थालिएको छ । जागरणभन्दा अधिवेशन गर्न लागेको भए पार्टीले एउटा लय समात्थ्यो । पार्टी केन्द्र र प्रदेशको सरकारमा नभएका वेला अधिवेशनमा लागेको भए सबैभन्दा राम्रो हुन्थ्यो । तर, सभापति कार्यकाल लम्बाउने नियतमा देखिनुहुन्छ ।

यो १४ औँ महाधिवेशन केन्द्रित आरोप–प्रत्यारोप हो ? 

सभापति आफैँ पार्टी एक ढिक्का छैन, पार्टीमा बोलचाल छैन भन्दै हुनुहुन्छ । पार्टीलाई एक ढिक्का बनाउने उहाँले नै हो । अधिवेशनबाहेक अरूले पार्टी एक ढिक्का हुँदैन । प्रेस स्वतन्त्रता हनन भयो भनेर हामी विरोध गर्दैछौँ । तर, नेतृत्वको गल्ती भन्न नपाइने अवस्था सिर्जना गरिएको छ । जथाभावी बोलेको भनेर अनुशासन समितिले हामीमाथि तरबार झुन्ड्याउँदै छ । यो महाधिवेशन केन्द्रित लडाइ होइन । पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हो । यो व्यक्तिको कुरा होइन । पार्टी कमजोर छ भनेर सबैले भन्दै आएका छन् । १४औँ महाधिवेशनबाट जो जिते पनि पार्टी एक ढिक्का बन्छ । 

छलफल गरौँ, हिलो नछ्यापौँ : बालकृष्ण खाण, केन्द्रीय सदस्य

कांग्रेस बिपी, सुवर्ण शमशेर, गणेशमान, जिपी, किसुनजीहरूले हाँकेको पार्टी हो । यी सबै नेताप्रति हाम्रो सम्मान छ । हाम्रा नेताले निरकुंशताविरुद्ध बलिदानी गरेका छन् । लोकतान्त्रिक मूल्य पद्धति कमजोर भयो भने जनअधिकार कमजोर हुन्छ । लोकतान्त्रिक पद्धति बलियो बनाउन कांग्रेस सुदृढ हुन आवश्यक छ । मुलुकमा प्रेस, मानवअधिकार, संसद, न्यायापालिका सबै कमजोर बनाउने र निरकुंशता लाद्ने बाटोमा सरकार अघि बढेको छ । यी सबैलाई रोक्न कांग्रेस एक ढिक्का हुन जरुरी छ । नेताको मानमर्दन हुने गरी कसैले टिप्पणी गर्नुहुँदैन । कमजोरी छन् भने केन्द्रीय समितिमा छलफल गरौँ । एक आपसमा हिलो छ्याप्दा लोकतान्त्रिक मूल्य पद्धतिलाई नै घाटा पुग्छ । 


देउवा र कोइरालालाई महाधिवेशन लागिसकेको छ : पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

देउवा र शेखरलाई १४औँ महाविधेशन लागिसकेको छ । देउवा फेरि सभापतिमा एकपटक उठ्छु भन्दै लागेका छन् । शेखरको भनाइ छ– सभापतिमा देउवा र महामन्त्रीमा शशांक असफल भए, रामचन्द्र देउवाका विकल्प होइनन् ।’ राजनीतिमा एक डेढ दशकदेखि सक्रिय भएकाले उनले सभापतिमा दाबी गर्ने वेला भएको छैन भन्ने देउवाको भनाइ हुन सक्छ । शेखर बिपीका छोरा भएको भए स्वतः सभापतिमा जित्ने थिए । कोइराला परिवारको सानो लिगेसी उनीसँग छ । त्यसै कारण कांग्रेसमा सभापतिको आकांक्षा राख्न खट्ने, कार्यकर्तामा सम्पर्क गर्नैपर्ने चुनौती उनलाई देखिन्छ । देशभर खट्ने, निरन्तर सक्रियता देखाउने शैलीले पनि उनमा सभापतिका आकांक्षी हुन् भन्ने देखाउँछ । 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !