२९ असार, विराटनगर । हरेक वर्ष मनसुन सक्रिय भएपछि नेपालीको ध्यान सप्तकोशीको ब्यारेजमा केन्द्रित हुन्छ । २०६५ भदौ २ गते यही ब्यारेजको पूर्वी तटबन्ध भत्किँदा पश्चिम सुनसरीको कुशाहा क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो ।
त्यो बेला कोशीमा पानीको वहाव बढेसँगै ब्यारेजका ढोकाहरु नखोलिएका समाचारहरु पनि आएका थिए । यो सालको असार २८ गते शनिबार बिहान ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको कुरा पनि समाचार बन्यो । ब्यारेजका ढोकाको वास्तविकता भने बेग्लै छ ।
नेपाल–भारत कोसी सम्झौताअनुसार ब्यारेज नियन्त्रण भारतीयको हातमा छ । ब्यारेजको कन्ट्रोल रुममा नेपालीहरुलाई पस्न दिइदैन । ब्यारेज हेर्ने भारतीय अधिकारीहरुले जे भन्छन्, त्यसैलाई पत्याउनुपर्ने अवस्था छ ।
ब्यारेजको यथार्थ
सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोशी नदीमाथि एक हजार १७५ मिटर लामो पुल बनाइएको छ । पूर्वपश्चिम राजमार्ग जोड्ने यही पुललाई कोसी ब्यारेज भनिन्छ ।
ब्यारेजमा कूल ५६ वटा ढोका छन् । पूर्वतर्फका ढोका खोल्दा भारत जाने नहरमा पानी बढेर भारतीय भूभाग डुबानमा पर्छ । त्यस्तै, पश्चिमतर्फका ढोका खोल्दा नेपाली भूभाग डुब्छ । भारतीय अधिकारीहरुले ढोका खोलेको जानकारी दिँदा कतापट्टिको, कतिसम्म खोलियो भनेर खुलाउँदैनन् ।
४५ फिट अग्ला ब्यारेजका ढोकाहरु २२ फिटसम्म खोल्न मिल्छ । ढोकाहरु खोलेको सुचना प्रवाह गर्दा कति फिटसम्म खोलियो भन्ने कुरा मुख्य महत्वपुर्ण हुन्छ । कोसी ब्यारेजका ५६ मध्ये दुईवटा ढोका निर्माणयता कहिल्यै खोलिएको छैन । तर, शनिबार बिहान सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी र ब्यारेजस्थित प्रहरी चौकीका प्रमुख ईश्वर दाहालले सबै ५६ वटै ढोका खोलिएको जानकारी सञ्चार माध्यमहरुलाई दिएका थिए ।
मन्त्रीलाई पनि ढाँटियो
कोशीमा पाँच वर्षयताको सबभन्दा बढी बहाव मापन भएको थाहा पाएपछि प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र उद्योग मन्त्री जगदीश कुशियत शनिबार कोसी ब्यारेज पुगे ।
मन्त्रीहरु नै आएपछि कन्ट्रोल रुममा प्रवेश दिएर भारतीय प्राविधिक लाला दासले पानीको बहाव तीनलाख ३१ हजार २२० क्युसेक मापन गरिएको र ब्यारेजका ४१ ढोका खोलिएको जानकारी गराए । उनले ४१ वटा ढोका खोलिएको बताए पनि २४ वटा मात्र पुरै र दुईवटा ढोका दुई फुटमात्र खोलिएका देखिन्थ्यो ।
त्यो थाह पाएपछि प्रदेश १ सरकारले सबै ढोका पुरै खोल्ने पहल गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ । कोशी सम्झौताअनुसार केन्द्र सरकारले मात्र भारतलाई ब्यारेजका ढोका खोल्न आग्रह गर्न सक्छ । प्रदेश सरकारले ब्यारेजको वस्तुस्थिति जानकारी गराउँदै उपयुक्त पहल गर्न संघीय सरकारलाई भनेको मन्त्री कार्कीले बताए ।
कोशी नदीमा पानीको बहाव बढे पनि जोखिमको तहमा नपुगेको भारतीय प्राविधिक लाला दासको भनाइ छ । ब्यारेज (पुल)ले नौ लाख क्युसेकसम्म पानीको बहाव थेग्न भएकोले तीनलाख क्युसेकको बहावलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए छ । जबकी, २०६५ भदौमा ब्यारेजको पुर्वी तटबन्ध फुट्दा एकलाख ६५ हजार क्युसेक बहाव थियो ।
ब्यारेजले वहाव रोकेर पुर्वी तटबन्धका स्परहरु भत्किदा सुनसरीको कुशाहा क्षेत्रका सात हजार ५६३ घरपरिवारका ४२ हजार ७६३ जना विस्थापित भएका थिए ।
असमान सम्झौता
राजा महेन्द्रको शासनकालमा सन् १९५४ मा नेपाल र भारतबीच कोसी ब्यारेज निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार यो ब्यारेज १९९ वर्षसम्म भारतको नियन्त्रण रहने छ ।
१९५९ मा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले संयुक्त रुपमा शिलान्यास गरेको यो ब्यारेजको उद्घाटन पनि संयुक्त रुपमा नै भएको थियो, १९६५ मा राजा महेन्द्र र अर्का भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीबाट । नेपाली भूमिमा बनेको यो संरचना अझै १४५ वर्ष भारतकै नियन्त्रण रहने छ ।
सिमेन्टबाट बनेको संरचनाको आयु ५० वर्षसम्म मात्र हुने मानिन्छ । यस हिसाबले हेर्दा वर्षेनी कोसीको भेलको धक्का र हरेक दिन सयौं मालबाहक गाडीको भार थेग्दै आएको ब्यारेजको आयु सकिइसकेको देखिन्छ ।
सम्झौता अनुसार पश्चिमी नहरबाट नेपाल र पूर्वी नहरबाट भारतले सिँचाइ गर्छ । तर, सुख्खायाममा कोशीको पानी भारतले मात्र प्रयोग गर्दै आएको छ । हिउँदमा कोसीको पानीबाट भारतले दुईलाख ६१ हजार हेक्टर जमिनमा सिञ्चाईं गर्छ भने नेपालले मुस्किलले २५ हजार हेक्टर ।
ध्रुव भट्टराई onlinekhabar.com बाट