सूचना नेपाल
१२ साउन २०८१, शनिवार

वायु सेवा निगम डुबाउने खेलमा अध्यक्ष खरेल, जापानी आकाशमा पनि कालोसूचीमा पर्ने खतरा !

काठमाडौं – ओसाका उडानको अनुमति पाएको लामो समय बितिसक्दा पनि उडान शुरू गर्न नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) जापानमा पनि कालो सूचीमा पर्ने खतरा बढेको छ ।

युरोपेली आकाशमा केही वर्षयता कालो सूचीमा रहेको नेपालको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी बहुप्रतिक्षित जापान उडान शुरू गर्न नसकी कालोसूचीमा पर्ने खतरा बढेको हो ।

अनुमति दिइसकेको ओसाका उडान शुरू गर्नुभन्दा नेपाली पक्ष प्रतिनिधि परिवर्तन गर्ने जस्ता काममा केन्द्रित भएको भन्दै ‘जापान सिभिल एभिएसन ब्यूरो, जेक्याब’ले अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।

ओसाका विमानस्थलबाट यही जुलाइको ४ तारिखमा उडान शुरू गर्ने कार्यतालिका निगमले सार्वजनिक गरेको थियो । पछि त्यसलाई रद्द गरेर अगस्ट २९ का लागि सारियो । 

यसबीचमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहाल आफैं निम्तो मागेर जापान पुगेका थिए ।

निगमले ओसाका उडानको तयारी र नारिता विमानस्थलबाट उडान शुरू गर्न अनुमति लिने प्रयास स्वरूप अध्यक्ष खरेल जापान गएको बताएको थियो ।

अध्यक्ष खरेल जापान पुगेर फर्किएयता नेपाल एयरलाइन्सले जापान उडान गर्ने वातावरण झन बिग्रिँदै गएको छ ।

त सोमवार निगमले जापानस्थित आफ्नो प्रतिनिधि समेत परिवर्तन गरेको छ ।

प्रतिनिधि परिवर्तन भएको जानकारी जेक्याबलाई पठाइसकेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले लोकान्तरलाई जानकारी दिए ।

सन् २००८ सम्म नेपाल एयरलाइन्सले जापान उडान गर्दा प्रतिनिधिको रूपमा नेतृत्व गरेका देवमान हिराचनको कम्पनी आसुका ट्राभल्स एण्ड टूर्सलाई नै प्रतिनिधि बनाएर ओसाका उडानका लागि अनुमति लिइएको थियो ।

अहिले नेपाल एयरलाइन्सले एआईके नामक कम्पनीलाई नयाँ प्रतिनिधि तोकेको बताएका प्रवक्ता चन्दले यसका सञ्चालक र कम्पनीबारेका थप कुरा भने बताउन चाहेनन् ।

प्रतिनिधि परिवर्तन लगायतका विषयले नेपाली विमानका लागि जापानी आकाश सधैँका लागि बन्द हुने खतरा बढेको स्रोतको दाबी छ ।

‘यो विषयले नेपाल एयरलाइन्स जापानी आकाशमा सधैंका लागि लागि कालोसूचीमा पर्ने खतरा बढेको छ,’ जापानस्थित स्रोतले लोकान्तलाई भन्यो, ‘इन्टर एभिएसन जापानले नेपाल एयरलाइन्सका निर्देशक टंकनिधि दाहाल र जापानस्थित कन्ट्री डाइरेक्टर सन्तोष पाण्डेलाई इमेल लेखेर उडान अनुमति सम्झौता रद्द गर्ने र भविष्यमा कुनै सहकार्य नगर्ने चेतावनी समेत दिइसकेको छ ।’

अगस्ट २९ मा उडान शुरू गर्ने हो भने नेपाली पक्ष अगस्ट १ र २ तारिखमा ‘जाप्निज सेक्युरिटी मेनुअल’ नामक तालिममा सहभागी हुनुपर्ने हुन्छ । उक्त तालिममा पनि को सहभागी हुने भन्ने अन्योल बढेको छ ।

इन्टर एभिएसन जापान जेक्याब र नेपाल एयरलाइन्सबीच सम्झौतामा मध्यस्तता गर्ने र सहमतिका कागजातहरू ह्याण्डिलिङ गर्ने जापानी निकाय हो ।

अदालत जाने तयारीमा हिराचन

प्रतिनिधिबाट हटाइएका देवमान हिराचन भने निगमको उक्त निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् । 

आफूलाई अन्यायपूर्ण ढंगले प्रतिनिधिबाट हटाइएको जिकिर सहित हिराचनले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका हुन् ।

यसबारे प्रतिक्रिया माग्दा हिराचनले आफू अदालत जान लागेको स्वीकारे ।

‘प्रतिनिधिका रूपमा मेरो कन्ट्र्याक्ट टर्मिनेट गरिएको भन्ने पत्र बुधवार प्राप्त भयो,’ हिराचनले लोकान्तरसँग भने, ‘यसलाई रोक्नका लागि अदालत जाने तयारीमा छु ।’

सन् २००८ मा उडान बन्द भएको ११ वर्षसम्म पनि जापानमा आफूले कम्पनीलाई जीवित राखेको र नयाँ अनुमति पनि आफूले नै लिएकाले अहिले आएर हटाउनु गलत भएको उनको जिकिर छ ।

‘विगत ११ वर्षदेखि जापानमा म प्रतिनिधिको रूपमा छु । सन् २००८ मा नै बन्द भएको ओसाका उडानलाई सुचारू गर्ने क्रममा पनि मैलै नै सबै प्रक्रिया पूरा गरेर अनुमति ल्याएँ । कागज पत्र सबै तयार पारेँ,’ हिराचनले थपे, ‘अहिले आएर टर्मिनेट गरिएको भन्ने पत्र आएको छ ।’

अध्यक्ष खरेलको राजनीतिले डुब्ने खतरामा निगम !

खरिदमा अर्बौं भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको वाइड बडी विमानले क्षमता अनुसारको काम नपाउने अवस्था आएपछि निगमले विभिन्न देशमा नयाँ उडान शुरू गर्ने प्रक्रिया अघि बढाएको थियो ।

यसैक्रममा जापानमा पनि उडानका लागि पहल भयो । जापानको ओसाकामा पहिले पनि नेपाली विमानले उडान अवतरण गरेकाले जापान सबैभन्दा सहज र उत्तम विकल्प थियो ।

निगमले आफ्ना पूर्व प्रतिनिधि देवमान हिराचनलाई नै जापान उडानको अनुमति लिने प्रक्रिया पूरा गर्न भन्यो ।

हिराचनले ११ वर्षदेखि ओसाकामा नेपाल एयरलाइन्सको कार्यालय जीवित राखेका थिए, कम्पनी पनि बर्सेनि नवीकरण गर्दै आएका थिए ।

अनुमति प्राप्त गरेर यही जुलाइ ४ तारिखका लागि उडान समेत तय भएको थियो ।

उक्त उडान रद्द गरेर अगस्ट २९ का लागि नयाँ तालिका सार्वजनिक भएको छ । सो अवधिमा पनि उडान हुने/नहुने अनिश्चित छ ।

यसबीचमा अध्यक्ष खरेल र निर्देशक दाहाल जापान पुगेर आएयता विभिन्न किसिमका राजनीति भइरहेका छन् ।

अध्यक्ष खरेलको व्यक्तिगत स्वार्थ र राजनीतिका कारण नेपाल एयरलाइन्सको सम्भावित गन्तव्य जापान सधैंका लागि बन्द हुने खतरा छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !