सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पर्सा र बारामा फेरि हावाहुरी, एक किशोरीको मृत्यु

वीरगन्ज : बुधबार बेलुका आएको हावाहुरीले पर्सा र बारामा एक किशोरीको मृत्यु भएको छ । हुरीले पर्साको पकाहामैनपुर गाँउपालिका १ धोरे गाँउका दिनेश सहनीकी छोरी १५ वर्षीया श्रुती सहनीको मृत्यु भएको हो। उनकी दिदी रानी सहनी घाइते भएकी छन्। 

बुधबार साँझ तरकारी किनेर फर्किँदा हुरीले सडक छेउको सिमलको रुख भाँचिएर श्रुती च्यापिएकी थिइन् । रुखमा च्यापिएर घाइते भएकी श्रुतिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

श्रुतिलाई उपचारका लागि सुरुमा वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो। त्यहाँ उनको उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा राति ११ बजे उनको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।

हुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा ७ वटा घरमा क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका जमदार देवान, विजय पटेल, श्रवण महतो लगायत सात जनाको घरमा हावाहुरीले क्षति पुर्‍याएको प्रहरीले बताएको छ।

हुरीले पर्साको ग्रामीण भेगमा रहेका करिब आधा दर्जन प्रहरी चौकीहरुमा पनि क्षति पुरयाएको छ। सुपौली, धोरे  र भस्वामा रहेको प्रहरी चौकी भवनका छाना हुरीले उडाएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ।
 
यस्तै अमरपट्टीमा रहेको प्रहरी चौकीको भवन र अस्वारीमा रहेको प्रहरी चौकीको मेस भवन हुरीले भत्किएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। 

यस्तै हुरीले पर्साको जिराभवानी गाउँपालिका वडा नंबर ४ मा पनि चार वटा घरको छानो उडाउनुका साथै पोखरीया बजारमा तीन वटा विद्युतको पोल ढलेको छ।
 
पर्साको धोवीनी गाँउपालिका वडा नम्बर १ पिपरामा अफताव पटेलको कुखुरा फर्म पनि हुरीले भत्किएको छ। फर्ममा करिब चार लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। हुरीले पर्सामा भएको अरु भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी भटटराइले जानकारी दिए। 

टेन्टमा बसेका परिवार थप समस्यामा

चैत १७ गतेको विनशाकारी हुरीले प्रभावित बाराका गाँउहरुमा पनि बुधबार बेलुकीको हुरीले क्षति पुगेको छ।
 
चैत १७ गतेको विनशाकारी हुरीले घरबार बिहीन भएपछि अस्थायी टेन्टमा आश्रय लिएर बसेका मानिसको टेन्ट हुरीले उडाएर उनीहरु थप समस्यामा परेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए। 

बुधबारको हुरीले बाराकै सिम्रौनगढ नगरपालिका र त्यस आसपासका पचरौता र कोतवाल गाँउमा पनि क्षति पुर्‍याएको छ। 

हुरीले सबैभन्दा बढि क्षति सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ जोलाही टोलमा भएको छ। जोलाही टोलमा कुर्बान अंसारी, आबिद अंसारी, मोहन अंसारी, सबिर अंसारी, अजहर अंसारी, तिजारत अंसारी, युनुस अंसारी गरी २० जनाको घर भत्किएको स्थानीय अजिउल्लाह अंसारीले जानकारी दिए।
 
हुरीले घर भत्किएर च्यापिँदा पचरौता नगरपालिका वडा नम्बर २ बिसुनपुरका रामचन्द्र राउत जयसवार घाइते भएका छन्। हुरीले आफ्नै घरको छाना खसेर च्यापिएका जयसवारलाई छिमेकीहरुले उद्धार गरी उपचारका लागि वीरगन्जको अस्पतालमा पठाएको स्थानीय जयप्रकास राउतले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ रामनगरमा रहेको प्राथमिक बिधालयको पर्खाल खस्नुका साथै छाना पनि उडाएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष  रामकिसुन यादवले जानकारी दिए। हुरीले ठाँउ ठाँउमा विद्युतको पोल पनि ढलेकाले सिम्रौनगढ , पचरौता र कोतवालमा विद्युत आपुर्ति सेवा पनि प्रभावित भएको छ। 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !