हाम्रोदेस समाचार
काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा न्युजिल्याण्डले रोमाञ्चक जित प्राप्त गरेको छ । बुधबार राति बर्मिङघममा भएको खेलमा न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्न सफल भयो ।
वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको लक्ष्य न्युजिल्याण्डले ४८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कप्तान केन विलियमसनले कप्तानी प्रदर्शन गरे । उनले १३८ बलमा अन्तिममा १ छक्का र ९ चौकासहित नटआउट १०३ रन बनाए । यो उनको विश्वकपमा पहिलो शतक हो ।
यस्तै अलराउन्डर कोलिन डी ग्राण्डहोमले ६०, मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको नोक्सानीमा २४१ रन बनाएको थियो ।
भान डेर डुसनले नटआउट ६७ तथा हसिम अमलाले ५५ रन बनाए । न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए ।
न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । भारतसंगै न्युजिल्याण्ड पनि अपराजित टोली हो ।
५ खेलबाट ८ अंकको आयोजक इंगल्याण्ड दोस्रो स्थानमा छ । तेस्रो स्थानको अष्ट्रेलियाको पनि ८ अंक नै छ ।
४ खेलबाट ७ अंकको भारत चौथो स्थानमा छ । पाँचौं स्थानको बंगलादेशको ५ खेलबाट ५ अंक छ ।
छैटौं स्थानको श्रीलंकाको ५ खेलबाट ४ अंक हुँदा ५ खेलबाट ३ अंकको वेष्ट इन्डिज सातौं स्थानमा छ ।
दक्षिण अफ्रिका ६ खेलबाट ३ अंकसहित आठौं स्थानमा छ । पाकिस्तान ५ खेलबाट ३ अंकसहित नवौं र अफगानिस्तान ५ खेलबाट अंकविहिन हुँदै पुछारमा छ ।